प्याराग्लाइडिङ खेल विकासका लागि प्रादेशिक संघ गठन

पोखरा । प्याराग्लाइडिङ खेलको विकास, विस्तार तथा यसलाई व्यवस्थित गर्नका लागि प्रादेशिक संघ गठन गरिएको छ । सोमबार प्याराग्लाइडिङ खेलाडी तथा यस व्यवसायमा आबद्ध पर्यटन व्यवसायीको पोखरामा भएको भेलाले वसन्तराज दवाडीको अध्यक्षतामा गण्डकी प्रदेश प्याराग्लाइडिङ संघ गठन गरेको हो ।

नवगठित समितिको उपाध्यक्षद्वयमा योगेश भट्टराई र सुनिल भट्टराई, सचिवमा भेनिष थापा र कोषाध्यक्षमा भरतप्रसाद तिमिल्सिना रहेका छन् । यसैगरी सदस्यमा कृषु पौडेल र विजय गौतम छन् । नेपाल प्याराग्लाइडिङ संघ तथा ह्याडग्लाइडिङ संघ (नेफा)को आयोजनामा भेला भएको हो ।

नवगठित संघका अध्यक्ष दवाडीले साहसिक पर्यटनको गन्तव्यका रुपमा रहेको पोखराको प्याराग्लाइडिङलाई संरक्षण गर्दै साहसिक खेल विकासमा आफू नेतृत्वको टोलीले काम गर्ने बताए ।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै प्याराग्लाइडिङको भविष्यलाई लिएर पर्यटन व्यवसायी चिन्तित भएकाले विमानको सुरक्षा हुने र प्याराग्लाइडिङ जोगिने उपाय खोजी गर्नुपर्ने उनको माग छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेर राष्ट्रको शिर उँचो बनाउने प्याराग्लाइडिङका लागि राज्यले पूर्वाधारमा लगानी गर्नुपर्ने अध्यक्ष दवाडीले बताए। उनले भने, “अन्य खेलको जस्तै प्याराग्लाइडिङको खेल पूर्वाधार सरकारले बताउनुपर्दछ, प्याराग्लाइडिङ उडान र अवतरण स्थलमा मैदानलगायतका खेल संरचनामा लगानी गर्नु आवश्यक छ ।”

आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा तय भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा प्याराग्लाइडिङ समावेश छ । पोखराको तोरीपानीबाट यस खेलको प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ ।

पोखरामा दुई दशकअघिदेखि प्याराग्लाइडिङ उडान हुँदै आएको छ । यसबीचमा प्याराग्लाइडिङ गराउने कम्पनीको पाँच दर्जनभन्दा बढी पुगेको छ । पूर्ण क्षमतामा सञ्चालन हुँदा दैनिक पाँचसय जनालाई सेवा दिने क्षमता यहाँका कम्पनीको छ ।

You might also like

Comments are closed.

Secret Link