माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोका लागि १ हजार खेलाडीले गरे नाम दर्ता

पोखरा । पोखरामा आयोजना हुने ‘तेश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप २०२२’ जि–२  र्‍याकिङ तथा ‘प्रथम जिसिएस माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला पुम्से च्याम्पियनसिप–२०२२’ तर्फ गरी १ हजारभन्दा बढि खेलाडीले आफ्नो नामा दर्ता गराएको आयोजकले जनाएको छ ।

नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश सम्शेर राणको अध्यक्षतामा मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे आयोजकले जानकारी दिएको हो । आगामी असोज ६ देखि ९ गतेसम्म हुने ग्योरोगीतर्फ ८ सय ११ र पुम्सेतर्फ २ सयभन्दा बढी आफ्नो नाम दर्ता गराएको गण्डकी प्रदेश तेक्वान्दो संघका अध्यक्ष जगनबहादुर गुरुङले बताएका हुन् ।

दक्षिण एशियामा नै पहिलोपटक उक्त प्रतियोगिता नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै उनले ग्योरोगी  र्‍याकिङ र पुम्से प्रतियोगिताका लागि एक दर्जन बढी राष्ट्रका खेलाडीहरुले आफ्नो नाम दर्ता गराइसकेको जानकारी दिए । पोखरा र काठमाडौंमा हुने प्रतियोगिताको तयारीबारे जानकारी दिंदै मुल आयोजक समितिका सचिवसमेत रहेका गुरुङले भने, ‘हामीले १ हजार ५ सय खेलाडी पोखरा आउने अपेक्षा गरेका छौं, जसबाट कोभिड–१९ का कारण समस्यामा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने छ ।’

पहिलो चरणको दर्ता प्रक्रिया भदौ ९ गतेसम्म जारी रहने तथा दोश्रो चरणको दर्ता १० बाट सुरु हुने उनले जानकारी दिए । उक्त प्रतियोगितामा विश्वभरीका खेलाडीहरू, निर्णायक तथा प्रशिक्षकहरु, सहभागी खेलाडीका परिवारका सदस्यहरू र तेक्वान्दो महासंघका विशिष्ट पदाधिकारीहरूसहित २ हजारभन्दा बढीको सहभागीता हुने जनाइएको छ । विश्वस्तरीय मेगा तेक्वान्दो प्रतियोगिता अवलोकन गर्न ५ हजारभन्दा बढी तेक्वान्दो प्रेमीहरु पोखरा आउने अपेक्षा गरिएकोे छ ।

यस अघि दुई पटक सफलता पूर्वक काठमाडाैंमा सम्पन्न भइसकेको उक्त प्रतियोगिता कोभिड–१९ का कारण दुई वर्ष स्थगित भएको थियो । पोखरा रंगशालास्थित बहुउद्देश्यिय कभर्डहलमा आयोजना हुने प्रतियोगितामा सिनियर र जुनियरतर्फको (१४ वर्षदेखि ६० वर्ष भन्दा माथी) क्योरोगीतर्फ महिला र पुरुष गरी विभिन्न ८ वटा तौल समुहमा गरी कुल १६ वटा तौलमा तथा पुम्सेतर्फ समेत १४ देखि ६० वर्ष भन्दा माथी एकल, जोडी र समुहमा प्रतिस्पर्धा हुने आयोजक समितिका सदस्य एवं ओलम्पियन दिपक विष्टले जानकारी दिए ।

विश्व तेक्वान्दो महासंघले नेपालमा तेक्वान्दो खेलको विकासका साथै नेपाल र पोखराको खेल पर्यटन प्रवर्द्धन गर्न प्रतियोगिता स्वीकृती प्रदान गरेको र उक्त मेगा तेक्वान्दो प्रतियोगिता सम्पन्न गर्न करिब रु २ करोड ५५ लाख खर्च हुने आयोजक समितिका सदस्य तथा गण्डकी प्रदेश तेक्वान्दो संघका महासचिव रमेश पौडेलले जानकारी गराएका थिए ।

You might also like

Comments are closed.