गुल्मी । राष्ट्रिय सहकारी बैंक लि. बुटवल शाखाको आयोजनामा गुल्मीको तम्घासमा सहकारी बैंक र सदस्य संघ संस्थाहरुबीच अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । उक्त अन्तरक्रिया कार्यक्रममा बोल्दै बैंकका अध्यक्ष के.बी उप्रेतीले सहकारी क्षेत्रलाई वित्तीयरुपमा सक्षम, संस्थागतरुपमा सुशासनयुक्त र प्रविधिमैत्री बनाउनका लागि सहकारी बैंकसँगको सहकार्यका लागि सहकारी संघसंस्थाहरुलाई आह्वान गरेका छन् ।
कतिपय सहकारीहरु सहकारी ऐन नियमलाई वास्ता नगर्ने, माथिल्लो निकायमा आवद्ध नभई एक्लै हिड्न खोजेका कारण पछिल्लो समय सहकारीमा समस्या देखिएकोछ, अध्यक्ष उप्रेतीले भने, ‘सजिलोमा एक्लै र मनपरी ढंगले सञ्चालन भएका सहकारीहरु अप्ठेरोमा परेपछि अभियान खोज्दै आएका छन् ।’ सहकारीको रकम सहकारीमा राखौभन्दा वास्ता नगर्ने, सहकारीमा वित्तीय समास्या आएपछि अभियानको साथ खोज्ने प्रवृत्तिमा सुधार आउन आवश्यक रहेको उनको भनाई थियो ।
मुसीको नगरपालिकाका प्रमुख जीवन खरेलले ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्न वित्तीय तथा क्षमता विकासमा महत्वपूर्ण योगदान गरेको सहकारी क्षेत्रको प्रवर्द्धनका लागि नगरपालिका र अभियानबीच सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमाकुमारी जिसी (अञ्जु), राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा लुम्बिनी प्रदेशका संयोजक विजया धिताल, जिल्ला वचत तथा ऋण सहकारी संघ गुल्मीका अध्यक्ष ध्यामकुमार पाण्डे, रेसुंगा नगरपालिकाका सहकारी शाखा प्रमुख शेरबहादुर कुँवर, रुरुक्षेत्र गाउँपालिकाका सहकारी शाखा प्रमुख दामोदर ज्ञवालीलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रममा बैंकको बुटवल शाखाका प्रमुख नारायण वेलवासेले बैंकको विगत, वर्तमान र आगामी योजनाका बारेमा सहजीकरण गरेका थिए । जिल्ला सहकारी संघ लि।गुल्मीका अध्यक्ष शेषकान्त गौतमको अध्यक्षता, संघका उपाध्यक्ष यमबहादुर थापाको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले गरेका थिए ।
त्यस्तै, गुल्मीको तम्घासमा सहकारी बैंकको शाखा सञ्चालनका लागि आवश्यक संयोजन गर्न जिल्ला सहकारी संघका अध्यक्ष गौतमको संयोजकत्वमा समन्वय उपसमिति गठन गरिएको छ । समितिका सदस्यहरुमा यमबहादुर थापा, गुणनीधि शर्मा, तोय नारायण ज्ञवाली, गीता पाण्डे, श्याम पाण्डे र अर्जुन आचार्य रहेका थिए ।
Comments are closed.