पोखरा । पोखराको लामाचौरमा शनिबारदेखि लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु हुँदैछ । नव आदर्श सामुदायिक विकास समाजले हरितालिका तीजको अवसरमा आयोजना गर्ने २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ मा भलिबल प्रतियोगिता गर्न लागेको हो ।
विगतमा महिला भलिबलमात्र हुँदै आएकोमा यसपालि पुरुष भलिबल पनि थपिएको हो । लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्राङ्गणमा भदौ ११ देखि १४ गतेसम्म भलिबल प्रतियोगिताका खेलहरु हुने प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।
लामाचौर महोत्सवको मूल कार्यक्रम भने भदौ १२ देखि १४ सम्म हुनेछ । आयोजकले महोत्सवको सुरु हुनु अघिल्लो दिन शनिबारदेखि पहिलो चरणका खेल सुरुआत गर्न लागेको हो । लामाचौर कप महिला राष्ट्रिय भलिबल प्रतियोगितातर्फ नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लब, न्यू डायमण्ड युथ स्पोर्टर्स क्लब र गण्डकी प्रदेशको टिमले भाग लिने छन् ।
पहिलोपटक हुने पुरुष भलिबलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, त्रिभुवन आर्मी क्लबसहित बुटवलको मणिमुकुन्द भलिबल क्लब र गण्डकी प्रदेशको टिम गरी ५ टिमले भाग लिने छन् । शनिबार महिला तथा पुरुषतर्फ ४ खेल हुने खेल तालिका सार्वजनिक गरिएको छ । महिलातर्पm पहिलो खेलमा नेपाल पुलिस क्लब र गण्डकीको टिमबीच प्रतिस्पर्धा हुनेछ भने, अर्को खेलमा न्यु डायमण्ड र त्रिभुवन आर्मीबीच खेल हुनेछ ।
त्यस्तै, पुरुषतर्फ पहिलो खेल नेपाल पुलिस कलब र मणिमुकुन्द तथा अर्को खेलमा आर्मी र गण्डकीको टिमबीच प्रतिस्पर्धा हुनेछ । विजेताले १ लाख ५० हजार १११, उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइनेछ ।
२०५४ सालमा स्थापित नवआदर्श सामुदायिक विकास समाजले हरेक वर्ष तीज अवसरमा लामाचौर तीज महोत्सव आयोजना गर्दै आएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले आइतबार महोत्सव उद्घाटन गर्नेछन् भने अन्तिम दिन पूर्व प्रधानमन्त्री प्रचण्डको उपस्थिति हुनेछ ।
महोत्सवमा तीज गीत प्रतियोगिता, अन्तर मावि लोक नृत्यतर्फ, स्रष्टा सम्मान, बाल उद्यान, स्थानीयस्तरमा उत्पादित वस्तुको प्रदर्शनीलगायत आकर्षण रहेका छन् । महोत्सवमा विभिन्न खालका ५० स्टल रहने सूचना तथा संचार उपसमिति संयोजक बुद्धिबहादुर खत्री क्षेत्रीले जानकारी दिए ।
महोत्सवको अवसरमा शिक्षा, साहित्य, खेलकुद, युवा उद्यमशीलता विकासका क्षेत्रमा योगदान दिने श्रष्टालाई आयोजकले विगतमा झैं सम्मान गर्ने संस्थाका अध्यक्ष रेश्मा शेरचन अधिकारीले बताइन् । महोत्सवमा ५४ लाख ५ हजार खर्च हुने आयोजकको अनुमान छ ।
सामाजिक कार्यमा समेत क्रियाशील नवआदर्श सामुदायिक विकास समाजले महोत्सव संचालन गर्न स्थापना गरेको कोषमा २६ लाख संकलन भइसकेको र यसपालि डेढ लाख थप गर्ने लक्ष्य लिएको जनाएको छ । महोत्सवको मुख्य सहयोगी बानियाँ किराना स्टोर्स लामाचौर हो । देशविदेशमा गरी विभिन्न प्रायोजकले हालसम्म ४८ लाख रुपैयाँ सहयोगको बोलकबोल गरिसकेको आर्थिक संयोजक दिलबहादुर थापाले बताए ।
Comments are closed.