अष्ट्रेलियाको सफलता पछि अन्तर्राष्ट्रियस्तरको सेवासहित मुग्लानी स्वाद अब पोखरामा

सुरेन्द्र पौडेल
पोखरा, २३ माघ । अष्ट्रेलियामा बिगत ७ वर्षदेखि नेपाली व्यवसायीले सञ्चालन गरिरहेको दि मुग्लान रेस्टुरेन्टले पोखरामा शाखा बिस्तार गरेको छ । अष्ट्रेलियाकै गुणस्तरमा पोखरामा खानाका पारखीहरुलाई सेवा उपलब्ध गराइएको सञ्चालक राजमान थकालीले जानकारी दिए । २१ वर्ष अगाडि अष्ट्रेलिया पुगेका थकालीले सन् २०११ मा अष्ट्रेलियाको सिड्नीमा रेस्टुरेन्ट खोलेका हुन् ।

थकालीले पोखराको सभागृहमा रहेको मिड टाउन ग्यालेरियामा अत्याधुनिक सुविधासम्पन्न रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । १ सय ६० जनालाई एकै पटकमा सेवा प्रदान गर्न सक्ने गरी सञ्चालित रेस्टुरेन्टमा १ करोड रुपैयाँ लगानी भएको उनले जानकारी दिए । ‘रेस्टुरेन्टमा उत्कृष्ट थकाली खाना खुवाउँछौं,’ उनले भने, ‘पारिवारिक वातावरणमा सेवा प्रदान गर्नेछौं ।’ माघ पहिलो साता सञ्चालनमा आएको रेस्टुरेन्टको ग्राण्ड ओपनिङ फागुन १ गते गरिने थकालीले जानकाारी दिए ।

हरेक साँझ सांगीतिक कार्यक्रमको साथमा सेवा उपलब्ध गराउने उनले बताए । ‘हाम्रो रेस्टुरेन्ट अष्ट्रेलियामा उत्कृष्ट मध्यमा पर्छ,’ उनले भने, ‘पोखरामा अति उत्कृष्ट सेवा प्रदान गरी ग्राहकको विश्वास जित्नेछौं ।’ पोखरामा खुलेको रेस्टुरेन्टमा अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान हुने थकालीले बताए । ‘रेस्टुरेन्टमा थकाली खानाका साथमा ग्राहकको रोजाई अनुसारको खाना तथा खाजा उपलब्ध हुन्छ,’ उनले भने । रेस्टुरेन्टमा ३५ जनाले रोजगारी पाएका छन् ।

थकालीले रेस्टुरेन्टसँगै हिमाअस कन्सल्टेन्सीसमेत सञ्चालन गरिरहेका छन् । सन् २००८ मा खुलेको कन्सल्टेन्सीले पोखरा र काठमाडौंमा समेत शाखा सञ्चालन गरिरहेको छ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीलाई परामर्श दिन नेपालमा हिमाअसको शाखा स्थापना गरिएको थकालीले बताए । ‘उच्च शिक्षा पुरा गरेसँगै विदेशमा सुरु गरेको व्यवसायलाई आफ्नै देशमा स्थापित गराउन पाउँदा खुसी लागेको छ,’ उनले भने ।

You might also like

Comments are closed.