पश्चिम नेपाल साकोस म्याग्दीको अध्यक्षमा गौतम

रोहन जि.सी, बागलुङ । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय रहेको पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा बेनी नगरपालिका–४ तातोपानीमा सम्पन्न भएको छ । साधारणसभाले आगामी ४ वर्षका लागि भीमप्रसाद गौतम (जीवन) को अध्यक्षतामा नयाँ सञ्चालक समिति र रमेश सुवेदीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा हरिप्रसाद पौडेल, सचिवमा कृष्णप्रसाद आचार्य र कोषाध्यक्षमा श्रीराम पौडेल चयन हुनु भएको छ । सञ्चालक सदस्यहरुमा गणेश गुरुङ (सुरेन), दामोदर शर्मा, प्रेमलाल पौडेल, मायादेवी शर्मा, डिलबहादुर बरुवाल, दिर्घबहादुर खत्री, श्रीकृष्ण रिजाल, लेकबहादुर पुन रहेका छन् । लेखा सुपरीवेक्षण समितिका सदस्यहरुमा गोपाल रेग्मी र लोकनाथ रेग्मी चयन भएको निर्वाचन उपसमितिका संयोजक मोतिराज उपाध्यायले जानकारी दिए ।

साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले गरेका थिए । सो अवसरमा बोल्दै जिसीले सहकारीहरुलाई सदस्यहरुको आर्थिक, सामाजिक रुपान्तरणको प्रमुख साझेदारका रुपमा विकास गर्नका लागि योजना निर्माण गरेर काम गर्नु पर्नेमा जोड दिए ।

jutta mela

सहकारीमार्फत सदस्यहरुको आर्थिक विकास र सामाजिक क्षेत्रमा के–के प्रगति भयो । सहकारीमार्फत सदस्यहरुले आयआर्जन र वचत गर्ने बानीको विकास गर्नुका साथै व्यक्तिगत दक्षता अभिवद्धिमा के कति विकास भएको छ भन्ने विषयमा ध्यान दिनु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेफ्स्कुन फिल्ड कार्यालय पोखराका प्रमुख यमकला पौडेल, संस्थाका सल्लाहकारहरु मोतिराज उपाध्याय र सन्तनाथ सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, बेनी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरी, नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, गरिमा विकास बैंक दरवाङका प्रवन्धक सुरोज बराल, संस्थाका तातोपानी सेवा केन्द्रका संयोजक देवबहादुर घले, सेयर सदस्यहरुका तर्फबाट लोकनाथ रेग्मीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष भिमप्रसाद गौतम र सञ्चालन सचिव हरिप्रसाद पौडेलले गरेका थिए । २०६४ सालमा २७ जना सेयर सदस्यले एक एक सय रुपैयाँ जम्मा गरेर शुरु गरेको संस्थामा हाल ५ हजार ३ सय १० जना सेयर सदस्य, १२ करोड ८६ लाख ७२ हजार ७ सय रुपैया सेयर रकम, ६९ करोड ४० लाख ४५ हजार ७ सय ३० रुपैया बचत, ८० करोड, ५७ लाख ७५ हजार कर्जा लगानीसहित कुल १ अर्ब १ करोड ५७ लाख ४० हजार ५ सय ४० रुपैया कुल सम्पत्ती रहेको संस्थाका मुख्य व्यवस्थापक प्रेमलाल कंडेल (सदन) ले जानकारी दिए ।

म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरवाङमा मुख्य कार्यालय रहेको संस्थाले ८ वटा संस्थासंग एकीकरण गरी ८ वटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई सेवा दिँदै आएको छ । संस्थाले धौलागिरी गाउँपालिकाको ताकम, मंगला गाउँपालिकाको बाबियाचौर, रघुगंगा गाउँपालिकाको भगवती, अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीमा सेवा केन्द्र सञ्चालन गरेको छ ।

You might also like

Comments are closed.