समृद्धि फाईनान्स नेशनल भेट्रान चेस च्याम्पियनशीप शुरु

काठमाडौं । नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनशीप शुरु भएको छ । च्याम्पियनशीपको पहिलो दिन शनिबार दुई चरणका खेल सम्पन्न भएका छन् ।

दुई चरणको समाप्तिमा बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेटमास्टर नवीन तण्डुकार, बलराम नापीत, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षेत्री समान दुई÷दुई अंकका साथ अग्रता लिन सफल भए ।
च्याम्पियनशीपका शिर्ष खेलाडी पूर्व राष्ट्रिय च्याम्पियन विलमलालले पहिलो चरणमा भक्तपुरका जगन्नाथ ताम्राकार तथा दोश्रो चरणमा क्यान्डिडेटमास्टर भगवतीप्रसाद शर्मालाई पराजित गरे ।

त्यसैगरी तीनपटकका राष्ट्रिय च्याम्पियन बद्रीलालले पहिलो तथा दोश्रो चरणमा क्रमशः काठमाडौंका सिताराम अग्रवाल एवं लवकुमार श्रेष्ठमाथि जीत हात पारे । पूर्व राष्ट्रिय च्याम्पियन नविनले बर्दीयाका किरण नापीत तथा सप्तरीका भुवनेश्वर चौधरीलाई पराजित गर्दा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमानले ललितपुरका विनय श्रेष्ठ एवं काठमाडौंका ज्ञानेन्द्रप्रसाद श्रेष्ठलाई हार चखाए ।

रुपन्देहीका विजय गुरुङ अनरेटेड रामकृष्ण शर्मा एवं भक्तपुरका गणेशमान दुवालसँग अंक खोस्न सफल भए । कास्कीका रामबहादुरले श्याम राजवाहक एवं कास्कीकै नरेन्द्र रानाभाटमाथि जीत दर्ज गरे । दुई चरणको समाप्ति पश्चात काठमाडौंका जनार्दन श्रेष्ठ, राजेन्द्रप्रसाद श्रेष्ठ र कैलालीका जीत बहादुर केप्छाकी समान १ दशमलब ५ अंकमा रहेका छन् ।

पुतलीसडक स्थित कान्तिपुर सिटी कलेजमा जारी तीन दिने च्याम्पियनशीपको व्यवस्थापन स्पोर्टस एण्ड ईभेन्टस नेपालले गरेको छ । गत असार अन्तिम साता काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित बुद्धिचाल संघको नयाँ कार्यसमितिले हरेक वर्ष १५ वटा विधामा राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने निर्णय गरेको नेपाल बुद्धिचाल संघका सचिव उमेश केसीले बताए ।

नेपाली बुद्धिचाल खेल जगतका पहिलो पुस्ताका खेलाडीहरुलाई मध्येनजर गर्दै नेशनल सिनियर (भेट्रान्स) च्याम्पियनशीपबाट आफ्नो योजना कार्यान्वयन गर्न लागेको संघले यसै प्रतियोगितामा मार्फत नेपालमा पहिलोपटक डिजिटल चेस बोर्डसमेत प्रयोगमा ल्याएको छ ।

सातै प्रदेशका ३४ जना खेलाडीको सहभागीता रहेको च्याम्पिनशीपको कुल पुरस्कार राशी १ लाख ७४ हजार रुपैंया रहेको छ । स्विस लिगअनुसार ७ चरणमा सम्पन्न हुने च्याम्पियनशीपको विजेताले ५० हजार नगद प्राप्त गर्नेछन् ।

शनिबार आयोजित उद्घाट्न समारोहमा समृद्धि फाईनान्सका अध्यक्ष ठाकुर प्रसाद भट्टराईले सामाजिक उतरदायित्व अन्र्तगत प्रायोजन गरिएको यस च्याम्पियनसीपलाई आगामी संस्करणमा समेत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । च्याम्पियनशीप अन्र्तगत आज तेश्रो, चौथो र पाचौं चरणका खेल सञ्चालन गरिनेछ ।

lcci
You might also like

Comments are closed.