मुख्य बजार जोड्ने गरी चक्रपथ निमार्णमा पहल गर्छु : थापा

पोखरा । गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार विन्दुकुमार थापाले व्यवसायी हक हितका लागि गण्डकी प्रदेशको राजधानी पोखराका बजारलाई गाउँसम्म जोड्ने गरी चक्रपथ निमार्णका लागि पहल गर्ने बताएका छन् ।

उनले पोखराको मुख्य बजार र वरपरका क्षेत्रलाई समेट्ने गरी चक्रपथको निमार्ण गर्ने प्रतिबद्धता व्यक्त गरे । बुधबार थापाले पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, मानवअधिकारचोक, नयाँ बजारलगायतको क्षेत्रमा व्यवसायीसँग समस्या बुझ्दै उनले व्यवसायीको हकहितका लागि आफु दत्तचित्त भएर लागिपर्ने बताएका हुन् ।

आफु पनि व्यवसायी भएकाले व्यवसायीको मर्म राम्रोसँग बुझेको र पछिल्लो समय बैंकहरुले व्यवसायीमाथि गरेको अत्याचार असह्य भएको भनाई उनको छ । उनले यसका लागि राज्यको तर्फबाट गर्न सकिने सहयोग गर्ने बताए ।

गण्डकी प्रदेशमा अब बाह्य लगानी भित्र्याउन र पर्यटनको प्रचुर विकास गर्न लगानी सम्मेलन गर्न अत्यावश्यक रहेको उनको भनाइ छ । कोरोना महामारी पश्चात व्यवसायी टाट पल्टिने अवस्थामा आएको र अहिले बैंकको आतंकले व्यवसायी आत्महत्या गर्नुपर्ने स्थितिमा पुगेको बताउँदै उनले यसका लागि राज्यले उचित व्यवस्थापन गर्न जरुरी रहेको सुनाए ।

थापाले आफु विजयी भए प्रदेश सरकारको तर्फबाट व्यवसायीका लागि गर्न सकिने हदैसम्मको सेवा र राहत प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । थापा लोकतान्त्रिक गठबन्धनबाट कास्की क्षेत्र नं. २ (२) का प्रत्येक्ष उम्मेदवार हुन् ।

You might also like

Comments are closed.