निर्वाचनमा चलचित्रकर्मी : प्रत्यक्षमा न्यून उपस्थिति, समानुपातिकमा के होला ?

काठमाडौं । यही मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा फिल्मकर्मीहरूले दिएको उम्मेदवारीको राम्रै चर्चा भयो । प्रायः पार्टीको प्रचारप्रसारमा मात्र देखिने फिल्मकर्मीहरू यसपटक चुनावी मैदानमा देखिए । रिल लाइफबाट चुनावी मैदानमा होमिने कलाकारको सङ्ख्या उच्च थियो ।

यद्दपि सफलता पाउनेको सङ्ख्या निकै कम छ । प्रत्यक्षको तुलनामा समानुपातिकमा फिल्मकर्मी सांसद बन्ने सम्भावना बढेको छ । राष्ट्रियसभा सदस्य भइसकेकी गायिका कोमल वलीले नेकपा (एमाले)बाट दाङको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकी थिइन् । उनलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले पराजित गरे ।

गायिका वलीले २९ हजार ९२ मत प्राप्त गर्दा निर्वाचित गिरीले ३६ हजार नौ सय ११ मत प्राप्त गरे । राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मोरङ क्षेत्र नं ३ मा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा १० हजार नौ सय ९८ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भइन् ।

सो क्षेत्रमा नेपाली कांग्रेसका सुनिलकुमार शर्मा निर्वाचित भए । काभ्रे-२ बाट स्वतन्त्र उम्मेदवारी दिएका फिल्म निर्देशक तथा समीक्षक मनोज पण्डितले एक सय ७३ मत मात्र प्राप्त गरे । उनले आफूले प्राप्त गरेको मतको सम्मान गर्दै सक्रियता बढाउने बताए । “उम्मेदवारी दण्डहिनताका विरुद्ध थियो । सामाजिक व्यवस्थापनका लागि आवाज सधैँ उठाइरहनेछु”, निर्देशक पण्डितले भने ।

काठमाडौं क्षेत्र नं ६ बाट स्वतन्त्र उम्मेदवारी दिएका गायक सञ्जय श्रेष्ठले पाँच सय ७७ मत मात्र प्राप्त गरे । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल निर्वाचित भए । काठमाडौं क्षेत्र नंम्बर १ को प्रदेश (२) मा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) तर्फ उम्मेदवारी दिएका

फिल्म अभिनेता, निर्माता तथा वितरक करण श्रेष्ठले ६७ मत प्राप्त गरे ।

“यसपटक प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिनुभएका फिल्मकर्मीले केही न केही सिक्नुभएको छ, चुनावी मैदानको सिकाइले आउँदो समयमा यसक्षेत्रमा विकास गर्न र एकताबद्ध हुन् मद्दत गर्नेछ”, वितरक श्रेष्ठले भने। सो क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार सुरजचन्द्र लामिछाने निर्वाचित भए ।

यस्तै कमेडियन हिमेश पन्त, टेलिभिजन शङ्खला ‘सक्किगो नि’मा ‘सिते बा’ को भूमिकाबाट परिचित मधुसुधन पाठक, कलाकार सम्राट सापकोटा, कलाकार राज तिमल्सेनाले निर्वाचनमा हार बेहोर्नुपर्‍यो । प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्यतर्फ धादिङको क्षेत्र नं १ को (१) बाट उम्मेदवारी दिएका निर्माता तथा अभिनेता मधुकुमार श्रेष्ठ र प्यूठान-१ को (२) बाट प्रदेशसभा सदस्यतर्फ उम्मेदवारी दिएका फिल्म निर्माता तथा अभिनेता रोज राणा (सरोज थापा) निर्वाचित भएका छन्। निर्माता श्रेष्ठले १७ हजार आठ सय ३२ र निर्माता राणा २२ हजार पाँच सय १९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृति संघबाट राजनीतिमा समेत सक्रिय रहेका ‘जोगिन्दर’ को उपनामले परिचित हास्यकलाकार शिवशंकर रिजाल आउँदो निर्वाचनमा कलाकर्मी चुनावी मैदानमा बढ्ने देखिन्छ । “कलाकारलाई प्रचारप्रसारका लागि मात्र नभइ जनताको सेवा गर्न योग्य ठान्ने दलहरूले अझैँ सङ्ख्या बढाउनु जरुरी छ, हामी सेवा गर्न सक्षम छौँ”, हास्यकलाकार रिजालले भने ।

समानुपातिक सूचीमा चलचित्रकर्मी

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्ष झैँ समानुपातिकमा समेत फिल्मकर्मी छन् । सिरहाबाट प्रतिनिधिसभा सदस्यका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेपालसँगै बलिउडमा समेत अभिनयका प्रसिद्ध अभिनेता तथा गायक एवं संगीतकार मुरलीधर (मुरली मिझार) उम्मेदवार छन् ।

मोरङबाट फिल्म निर्माता, निर्देशक, प्रदर्शक तथा वितरक उद्धव पौडेल राप्रपाबाटै प्रतिनिधिसभातर्फको समानुपातिक उम्मेदवार छन् । यही पार्टीबाट फिल्म निर्माता तथा प्रदर्शक प्रदीपकुमार उदय लुम्बिनी प्रदेशसभाको समानुपातिक उम्मेदवार छन् । राप्रपाको लुम्बिनी अध्यक्षसमेत रहेका उदय केही वर्षयता फिल्मभन्दा पनि राजनीतिमा सक्रिय छन् ।

“पार्टीले अवसर दिएको सदुपयोग गरेको छु, मलगायत अन्य फिल्मकर्मीको पहल फिल्म क्षेत्रमा रहेका कमजोरीलाई हटाउन हुनुपर्छ”, अध्यक्ष उदयले भने, “फिल्मकर्मी पार्टीको प्रचारप्रसारमा मात्र सीमित नभइ नेतृत्वतर्फ पनि अगाडि बढ्नुपर्छ ।”

कालोपोथी निर्देशन गरेर चर्चा कमाएका फिल्म निर्देशक मीनबहादुर भाम नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार छन् । उनको नाम मुगुबाट खसआर्य तर्फ राखिएको छ । फिल्म निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि मुस्लिम खुला तर्फको समानुपातिक उम्मेदवार छन् । नेपाल जनता दलको वरिष्ठ उपाध्यक्षसमेत रहेका फिल्म निर्माता रघु परियार समानुपातिक तर्फ उम्मेदवार छन् ।

You might also like

Comments are closed.