अङ्ग्रेजी माध्यमको पढाइले विद्यार्थीको आकर्षण

गुल्मी । गुल्मी मालिका गाउँपालिका-४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिड्छन् । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अङ्ग्रेजी माध्यम ।

कक्षा ७ मा पढ्ने उनी घर अर्खबाङ्गदेखि मालिका-३ ह्वाङ्दीमा पुग्छन् । उनीसँगै दीक्षा अर्याललगायतका करिब ५० जना विद्यार्थीहरु गाउँको विद्यालय छाडेर लामो यात्रा गरी पढ्न जान्छन् ।

“त्यति टाढाको विद्यालय नगए पनि हुन्थ्यो भन्ने लाग्छ, आउँदा जाँदा एक झर पानी परे मेरा आँखाबाट आँसु झर्छन्”, अर्खबाङ्गकी ७३ वर्षीया तिलमती बुढाले भनिन्, “नाति-नातिनाको भविष्यका लागि जोखिम मोलेरै भए पनि पढ्न पठाउनुपरेको छ ।”

jutta mela

मालिका–३ मा रहेको देवीस्थान माध्यमिक विद्यालय अङ्ग्रेजी माध्यमबाट कक्षा १० सम्म अध्यापन हुने गाउँपालिकाकै एउटा मात्रै विद्यालय हो । विसं २०५० मा स्थापना भएको विद्यालयमा २०६७ देखि अङ्ग्रेजी माध्यमको पढाइ सुरु भएको प्रधानाध्यापक नारायणप्रसाद अर्यालको भनाइ छ । विद्यालयमा अहिले दुई सय ५७ विद्यार्थीले अङ्ग्रेजी माध्यमबाट पढिरहेको उनले जानकारी दिए ।

अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएपछि विद्यालयमा छिमेकी जिल्ला बागलुङको निगलपानी, चिसापानी र गङ्गरेका विद्यार्थी आउने गरेका छन् । गाउँमा एकमात्र अङ्ग्रेजी माध्यमको विद्यालय भएपछि टाढाका विद्यार्थी पढ्नका लागि आउने गरेको विद्यालयका विज्ञान शिक्षक विकास तामाङले जानकारी दिए ।

विद्यालयमा स्थायी दरबन्दीको अभावका कारण आर्थिक जोखिम मोल्दै भए पनि विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाइरहेको छ । चार जना प्राथामिक तहका स्थायी शिक्षकसहित तीन निम्न माध्यमिक र एक माध्यमिक तह गाउँपालिका अनुदान शिक्षक छन् । बाँकी छ शिक्षक र तीन कर्मचारी निजी स्रोतमा छन् ।

गाउँका अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या निरन्तर घट्दा पनि अङ्ग्रेजी माध्यमले गर्दा यस विद्यालयमा विद्यार्थी नघटेको प्रधानाध्यापक अर्यालको भनाइ छ ।

पुल नहुँदा सास्ती

अर्खबाङ्गबाट देवीस्थान माध्यमिक विद्यालयमा पुग्नका लागि दुई ठूला खोला तर्नुपर्दछ । जुन वर्षायाममको समयमा एक्लै र सहजै तर्न सकिन्न । एउटा खोलामा सामान्य झोलुङ्गे पुलले सहज भए पनि अर्को खोलामा पुल नहुँदा वर्षायाममा विद्यार्थी विद्यालय जान पाउँदैनन् ।

कक्षा १० मा पढ्ने जगत विकले आफूहरु प्रत्येक वर्षको वर्षायाममा जोखिम मोल्नुपरेको बताउछन् । “बर्खामा खोला तर्न सकिन्न, खोला तर्न नसक्दा यसपटक एक साताभन्दा बढी समय विद्यालय जान सकिन”, उनले भने। आफूसँगै अरु सबै विद्यालय वर्खामा विद्यालय जान नपाएको उनले बताए ।

गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाध्यक्ष ज्ञानबहादुर बुढाले पुल बनाउन अहिलेसम्म गाउँपालिकाबाट पहल नभएको बताए । सालझण्डी-ढोरपाटन अन्तर्गतको सडक भएकाले त्यसको मातहतबाट छिट्टै काम हुने उनले जानकारी दिए ।

You might also like

Comments are closed.