सेना, प्रहरी राखेर चिनिया मोडलमा नेपालको कम्युनिष्ट आन्दोलन अघि बढ्न सक्दैन ः मुख्यमन्त्री

सन्देश श्रेष्ठ
पोखरा, १ फागुन

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल चिनिया मोडलमा अघि बढ्न नसक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले बुधबार पोखरामा आयोजना गरेको जनयुद्ध दिवसको अवसरमा बोल्दै उनले विगतमा पनि चिनिया मोडलमा नेपालको कम्युनिष्ट आन्दोलन अघि नबढेको र अबपनि नबढ्ने बताएका हुन् । उनले भने,‘चिनिया मोडलमा सेना, प्रहरीलगायत आफ्नो बनाएर चिनिया मोडलमा हामी अगाडि बढ्ने अवस्था छैन, बरु संवैधानिक निकायमा प्रभुत्व जमाएर मात्रै बाँकी क्रान्ति पूरा गर्नुपर्छ ।’

नेकपा गण्डकी प्रदेशका ईञ्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले नेपालको कम्युनिष्ट आन्दोलन विश्वकै नमूना भएको बताए । उनले भने,‘विश्वका लागि नेपाली कम्युनिष्ट आन्दोलन उदाहरणीय, अनुकरणीय र नमूना छ ।’ मुख्यमन्त्री गुरुङले शान्ति प्रक्रियाका कामहरु पूरा नगरेसम्म क्रान्ति पूरा नहुने बताए । शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्नुपर्छ–उनले थपे,‘सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत जनयुद्धका घाइते तथा बेपत्ता भएकाहरुका परिवारलाई न्याय दिनुपर्छ, उनीहरुले आत्म सम्मानका साथ बाँच्न नपाउञ्जेल क्रान्ति पूरा हुँदैन ।’

jutta mela

मुख्यमन्त्री गुरुङले गाउँ र नगर कमिटीको संयन्त्र तयार पारेर सिफारिस गर्न निर्देशन दिए । उनले भने,‘अबको जिम्मेवारी भनेको जनजन र टोलटोलमा संयन्त्र तयार गर्ने हो, त्यसैले तपाईंहरुले नगर र गाउँ स्तरिय संयन्त्र बनाएर प्रदेशमा पठाउनुस्, हामी अनुमोदन गर्छौं ।’ उनले जिल्ला कमिटी गठन भने केन्द्रले दिएको निर्देशन अनुसार प्रदेशले गर्ने बताए ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेशका सहईञ्चार्ज खगराज अधिकारीले संकिर्ण गुटका कारण पार्टी एकीकरणका बाँकी काम पूरा नभइरहेको बताए । पार्टी गुटबन्दीको शिकार भएको आरोप लगाउँदै उनले ‘गुटबन्दी मुर्दावाद, क्रान्ति जिन्दावाद’ भन्दै नारासमेत लगाए । उनले पार्टी नेतृत्वको दौराको फेरो समातेर गुटबन्दी गर्ने कामले पार्टीको हित नगर्ने र यसले सहिद तथा बेपत्ताहरुको सम्मान नगर्ने उद्घोष गरे ।

नेकपा गण्डकी प्रदेशका अध्यक्ष हितराज पाण्डेले पार्टी एकीकरण छिटो सक्नुपर्नेमा जोड दिए ।

कार्यक्रमको अध्यक्षता गरेका नेकपाका नेता दामोदर बैरागीले जनयुद्ध र जनआन्दोलनले प्राप्त गरेका उपलब्धीको रक्षा गर्दै समाजवादसम्म पुग्नुपर्ने बताए ।

You might also like

Comments are closed.