‘१७औं प्याब्सन स्पोर्ट्स् मिट २०७९’ भोलिदेखि पोखरामा सुरु हुँदै

कास्की । प्याब्सन कास्कीले आयोजना गरेको “१७औं प्याब्सन स्पोर्ट्स् मिट २०७९” भोलिदेखि पोखरामा सुरु हुने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिताको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आइतबार बिहान ११ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले जानकारी दिए ।

आफ्ना नियमित साङ्गठनिक क्रियाकलापसँगै शिक्षाको गुणस्तर सुधार, आवश्यक भौतिक प्रबन्धन, शैक्षिक र सामाजिक कार्यक्रम सञ्चालन, सांस्कृतिक पक्षहरुको संरक्षण र खेलकुदको विकासमा उल्लेख्य भूमिका निर्वाह गर्दै आएको प्याब्सन कास्कीले विद्यार्थीहरूको वृहत्तर विकासका लागि विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरू बर्सेनि गर्दै आएको छ ।

विद्यार्थीहरूको खेल प्रतिभाको प्रस्फुटन र विकासलाई मध्यनजर गर्दै प्याब्सन कास्कीले जिल्लाव्यापी रूपमा “प्याब्सन स्पोर्ट्स् मिट” सञ्चालन गर्न लागिएको हो । प्याब्सन कास्कीले आफ्नो स्थापनाकालदेखि नै शिक्षासँगै खेलकुदको विकास गर्ने उद्देश्यले “प्याब्सन स्पोर्ट्स् मिट” सञ्चालन गर्दै आएको छ । त्यसैको निरन्तरताका रुपमा यस वर्ष पनि “१७औं प्याब्सन स्पोर्ट्स् मिट २०७९” गर्न लागिएको हो ।

मंसिर २५ गतेदेखि सुरु हुने स्पोर्ट्स् मिट २९ गतेसम्म सञ्चालन हुनेछ । यस प्रतियोगितामा कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूबीच छात्र सिनियर फुटबल, जुनियर, भलिबल, छात्रा भलिबल, छात्र टेबल टेनिस, छात्रा टेबल टेनिस, छात्रछात्राका लागि एथेलेटिक्सका साथै कक्षा ११ र १२ का विद्यार्थीहरूबीच छात्रछात्रा भलिबल, बास्केटबल, दौड हुनेछ ।

जसमा ५ हजार ५ सय भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने छन् भने दैनिक ११ हजार भन्दा बढी विद्यार्थी, अभिभावक र अन्य दर्शकहरूले प्रतियोगिताको अवलोकन गर्ने अनुमान छ ।

You might also like

Comments are closed.