व्यवसाय प्रवर्द्धनका लागि मेला सहयोगी बनेको छ : बस्ताकोटी

माधव बस्ताकोटी, कार्यसमिति सदस्य, पोखरा उद्योग वाणिज्य संघ

पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रमा राष्ट्रिय औद्योगिक व्यापार मेला जारी छ । पुस १६ बाट जारी मेला पुस २५ गते समापन हुँदैछ । यसैक्रममा मेलाका विविध विषयमा केन्द्रित रहेर संघका कार्यसमिति सदस्य माधब बस्ताकोटीसँग गरिएको कुराकानीः

पोखरा उद्योग वाण्ज्यि संघद्वारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला पोखरामा जारी छ । मेला कस्तो चलिरहेको छ ?
यसपटकको मेलालाई हामीले पहिले भन्दा केही फरक ढंगले लैजाने भन्ने उद्देश्यले विभिन्न किसिमका कार्यक्रममा परिवर्तन गर्दै ल्याउन सफल भयौं । जसमा हामीले यसलाई नर्मल मेला भन्दा पनि औद्योगिक वस्तुहरुको प्रदर्शनी होस् भन्ने कुरालाई अलि बढी ध्यान दिएका छौं । उद्योगीहरुले आफ्नो वस्तुहरु बेच्नु भन्दा पनि प्रमोशन गर्नका लागि बढी ध्यान दिएर स्टलहरु राखेको पाइएको छ । यस बाहेक साँस्कृतिक क्रियाकलापहरुमा पनि हामीले नाँचगान मात्रै नभएर व्यावसायिक टक शाे, केही उद्यमी बन्नका लागि टेवा पुग्ने किसिमका कार्यक्रमहरु सहित यो मेलालाई व्यवस्थित ढंगले अघि बढाएका छौं । मेला उत्साहजनक रुपमा अगाढि बढिरहेको छ ।

तपाईं ब्यानर व्यवस्थापन उपसमिति संयोजक भएर काम गर्नुभयो । यस पटकको मेलामा कस्ता खालका ब्यानरहरु राख्नु भएको छ ?
यसपाली हामीले चार वटा क्याटेगोरीमा ब्यानर छुट्याएका छौं । हामीले ब्यानरलाई अलि आकर्षक ढंगले व्यवस्थापन गरेका छौं । वालहरुमा झुन्ड्याउनु भन्दा पनि एकै ठाउँमा व्यवस्थित तरिकाले रुफ बनाएर त्यसमा पोखरा झल्किने हिमाल, मन्दिर, तालहरु झल्किने किसिमले ब्यानरहरु तथा सम्पूर्ण स्पोन्सरहरुलाई प्रवर्द्धन गरेका छौं ।

मेलामा स्थानीय उत्पादनहरु कति छन् ?
यसपटक मेलामा करिब–करिब २५ प्रतिशत जति स्थानीय उत्पादनहरु छन् । बाँकी ७५ प्रतिशत नेपाल भरिका अन्य बस्तु तथा सेवाका स्टलहरु छन् ।

मेला अवलोकनका लागि सर्वसाधारण किन आउने ?
यसपटकको मेला फरक ढंगले अगाढि बढिरहेको छ । मेलालाई रमाइलोका लागि मात्रै होइन केही गरौं र उद्यमी बनौं भन्ने सोच भएका व्यक्तिहरुलाई उद्योग संचालनका बारेमा केही आइडियाहरु पनि दिइरहेका छौं । उद्योगी बन्न चाहनेहरुका लागि यो मेला धेरै नै उपयोगी छ । तपाईंहरुले यो मेला अवलोकन गर्नु भएन भने तपाईंहरुलाई घाटा हुनेछ । एकपटक मेलाको अवलोकन गरिदिन म सबैलाई आग्रह गर्दछु । उद्यमी बन्न चाहनेहरुका लागि यो मेला निकै फलदायी हुनेछ ।

lcci
You might also like

Comments are closed.