पोखरा । निजी विद्यालयहरुको छाता संगठन प्याब्सन कास्कीद्वारा आयोजित १७औं प्याब्सन स्पोर्टस मिटको औपचारिक उद्घाटन भएको छ ।
पोखरा रंगशालामा आइतबार आयोजित एक समारोहका बीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्पोर्टस मिटको उद्घाटन गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले समाजमा अनुशासनका लागि खेलकुद अपरिहार्य रहेको बताए ।
मुलुकको अग्रगामी विकासका लागि शिक्षाको सुधार आवश्यक रहेको बताउँदै विशेष गरी उच्च तहका शिक्षण संस्थाहरु थप जिम्मेवारी बहन गर्न आवश्यक रहेको उनले बताए । शिक्षासंगै सिपको विकास र अध्ययनलाई रोजगारसंग जोड्नुपर्ने बताउँदै मन्त्री पौडेलले भोलिका कर्णधारहरुको भविष्य सुनिश्चित गर्न तिनैको शिक्षण पद्धतीलाई सुधार गर्नुपर्ने बताए ।
शिक्षण संस्थाहरुमा तालाबन्दी गर्ने, बन्द गर्ने जस्ता कुराहरुलाई रोक्न आग्रह गर्दै कानुनमा कुनै अवरोध भए त्यसको समाधान गर्न सरकार गम्भीर भएर अघि बढ्ने मन्त्री पौडेलले बताए । सबै नागरिकहरु जिम्मेवार भएर नेपाली शिक्षण संस्थाहरु सुधार गर्ने अभियानमा साथ र सहयोग गर्न जोड दिंदै उनले नेपाली शिक्षण संस्थाविरुद्ध भइरहेका अनर्गल प्रचार बन्द गर्न समेत आग्रह गरे ।
प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसद् बेदबहादुर गुरुङ, पोखरा विश्वविद्यालयका उपकुलपति प्रो.डा प्रेम नारायण अर्याल, प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछाने, नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीलगायतले अुनशासन र कृयाशिलताका लागि खेलकुद अपरिहार्य रहने बताएका थिए ।
उद्घाटन अवसरमा कास्की प्याब्सनसंग आवद्ध ५२ विद्यालयहरुले मार्च पास गरेका थिए । उक्त मार्च पासमा रेन्वो एकेडेमी होम्स पहिलो भएको छ । त्यसैगरी मेरी गोल्ड दोस्रो, पोखरा लनर्स तेस्रो स्थान हात पार्दा हाभर्ड मावि, हिल पोइन्ट मावि, ढुङ्गेसाँघु मावि तथा विन्देश्वरी माविले सान्त्वना भएका छन् ।
आइतबार नै सम्पन्न एथलेटिक्स प्लस टु छात्र १५०० मिटर दौडमा करुणानिधीका बिबेक परियार प्रथम, प्रतिभा सेकेण्डरीका होमबहादुर अधिकारी द्वितीय र सृजना सेकेण्डरीका सन्दिप श्रेष्ठ तृतिय भएका छन् । प्लस टु ८०० मिटर छात्रातर्फको दौडमा स्नो भ्यू माविकी पार्वती श्रेष्ठ प्रथम, बेथानीकी रोमिना गुरुङ द्वितीय र प्रतिभा सेकेण्डरीकी ऐरिना पुर्जा तृतिय हुन सफल भए ।
एथलेटिक्सतर्फका विजेता खेलाडीहरुलाई गण्डकी प्रदेश सांसद् बेदबहादुर गुरुङ, प्याब्सनका केन्द्रीय उपाध्यक्ष कृष्ण केसी, केन्द्रीय सदस्य प्रेमप्रसाद शर्मालगायतले मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्याब्सन स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र भलिबलतर्फ आइतबार ८ खेल सम्पन्न भएको भलिबल संयोजक नविन बरालले जानकारी दिएका छन् ।
सम्पन्न प्रतियोगितामा गुरुकुलले प्रतभालाई २–० को सोझो सेटमा पराजित गर्दा पोखरा पब्लिकले एक्स आर्मीलाई २–० ले, पश्चिमाञ्चलले ताराकुञ्जलाई २–० ले, सृजनाले कुमुदिनीलाई, माउन्ट अन्नपूर्णले बेथानीलाई, टप्सले सबलाइमलाई, केफले गोल्डन नेचरलाई २–० को सोझो सेटमा पराजित गरेका छन् भने हाभर्डले भास्करलाई २–१ को सेटमा पराजित गरेको छ ।
प्रतियोगिता अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीहरूका बिच छात्र/छात्रा भलिबल, बास्केटबल, एथलेटिक्स जस्ता इभेन्टहरूमा ७ हजार ७१२ भन्दा बढी विद्यार्थीहरूले प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्ने र दैनिक ११ हजारभन्दा बढी विद्यार्थी, अभिभावक र अन्य दर्शकहरूले अवलोकन गर्ने प्यावसन कास्कीले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहनेछ । १७औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च हुने कास्की प्याब्सनको अनुमान छ ।
Comments are closed.