पोखरा । गण्डकी प्रदेशमा सञ्चालित सहकारीहरुलाई लक्षित गरी कोपोमिस र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सञ्चालनका लागि प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजदेखि पोखरामा शुरु भएको छ ।
नेपाल सरकार भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय सहकारी विभाग नयाँ बानेश्वरले केन्द्रीय सहकारी संघ संस्थासंगको साझेदारीमा आयोजना गरिएको उक्त तालिम आगामी मंसिर २७ गतेसम्म पोखरामा सञ्चालन हुनेछ ।
कार्यक्रमको उद्घाटन गर्दै सहकारी रजिष्टारको कार्यालय गण्डकी प्रदेशका प्रदेश रजिष्टार रमेश घर्तीले सहकारी तथा गरिबीसम्बन्धी ब्यवस्थापन सूचना प्रणाली (कोपोमिस)ले सहकारीहरुलाई कानुनी हिसाबले कडी लगाउने काम गर्ने बताए । सहकारीहरु अझैपनि कानुनी दायरामा आउन नसकिरहेको अवस्थामा कोपोमिस प्रणालीले सहरकारीहरुलाई कानुनी दायरामा ल्याउन सजिलो बनाउने बताउदै सहकारी संचालकहरुले कोपोमिस प्रणाली र सम्पत्ति शुद्धिकरणमा अझैपनि ध्यान नदिँदा सहकारी संस्थामा समस्या उत्पन्न भइरहेको वताए ।
गण्डकी प्रदेशभित्र सञ्चालनमा रहेका सहकारीहरुलाई पालिकासंग सहकार्य गरी कोपोमिस तालिम सञ्चालनलाई अभियानका रुपमा सञ्चालन गर्न सके सहकारीहरु शुद्धिकरण भएर जाने बताउदै घर्ती मगरले सहकारी अभियानमा देखिएका विकृति, समस्या र चुनौतिहरुलाई सामना गर्न सम्पूर्ण एकजुट भएर लाग्नु पर्नेमा जोड दिए ।
सहकारीमा देखिएका समस्याहरुलाई हल गर्न आफु र आफ्नो कार्यालय तत्पर रहेको भएता पनि यसमा मुख्य गरी जिल्ला सहकारी संघहरुको मुख्य भुमिका रहने घर्तीको भनाइ रहेको थियो । सहकारी विभाग नयाँ बानेश्वर काठमाडौंका इन्जिनियर राजन पाण्डेले सहकारीहरुलाई दायरामा ल्याउनका लागि कोपोमिस र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रदेश स्तरिय प्रशिक्षक प्रशिक्षण तालिमको आयोजना गरेको बताए ।
तालिममा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ बाहेकका ९ वटा जिल्लाका जिल्ला सहकारी संघका प्रतिनिधीहरुको सहभागीता रहेको छ । तालिमबाट कोपोमिस प्रणालि र सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी जानकारी लिई आफ्ना मातहतमा रहेका सहकारीहरुलाई समेत उक्त तालिम प्रदान गर्ने उद्देश्य लिइएको पाण्डेले बताए ।
सहकारीमा मनोमानी गर्ने र नाम मात्रैको सहकारीहरुलाई हेर्ने दृष्टीकोणमा फरक बनाइए त्यस्ता ब्यवस्थालाई निर्मुल पार्नु आजको आवश्यकता रहेको बताउदै उनले सम्पूर्ण सहकारी संघमा कार्यरत कर्मचारीहरुले त्यसप्रति ध्यान दिन जरुरी रहेको बताए ।
सो अवसरमा बोल्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्रा कोइरालाले सहकारी संघहरुले कोपोमिस प्रणालीमा सहकारीहरुलाई आवद्ध गराउन कार्यक्रममा सहभागीता जनाएकाहरुले उल्लेख्य भूमिका खेल्नु पर्नेमा जोड दिइन् । सहकारीको मुल मन्त्रलाई सहकारीहरुले आत्मसात गर्न नसक्दा अहिले पनि सहकारीहरुले विभिन्न बाधा अड्चन ब्येहोर्नुपरेको उनको भनाइ रहेको थियो ।
Comments are closed.