अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकार र निजी क्षेत्र एकसाथ अघि बढ्नुपर्छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै उनले निजी क्षेत्रप्रति सरकारले फरक दृष्ट्रिकोण राखेको छैन, अर्थतन्त्रको महत्वपूर्ण हिस्सा मानेको बताएका छन् ।

“सरकारले निजी क्षेत्रलाई अर्कै नजरले हेर्छ भन्ने बुझाइ छ, तर सरकारले आफ्नै अभिन्न अङ्गका रुपमा लिएको छ, निजी क्षेत्रले दिएका सुझाव नै सरकारको नीतिमा पर्ने गरेका छन्”, अर्थमन्त्री शर्माले भने। अहिले अर्थतन्त्रमा देखिएका समस्या आन्तरिक कारणले मात्र नभइ विश्वव्यापी रुपमा सिर्जित बाह्य परिदृश्यका कारणसमेत रहेको जनाउँदै उनले समस्या समाधानका लागि सरकार र निजी क्षेत्र एकसाथ अघि बढ्नुपर्ने बताए ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भर्खरै मात्र सम्पन्न भएको र निर्वाचित प्रतिनिधिले अब विकासको आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने पनि अर्थमन्त्री शर्माको भनाइ छ ।

“नागरिकमा विकासको चाहना छ र यो संवैधानिक आवश्यकता पनि हो । अहिलेको अवस्थामा उत्पादन वृद्धि र आयात प्रतिस्थापन गर्ने कुराको महत्व छ । यसका लागि राज्यका सबै निकाय त्यसलाई कटिबद्ध भएर लाग्न म आग्रह गर्दछु” उनले भने।

 

You might also like

Comments are closed.