१७औं प्याब्सन स्पोर्टस मिट सम्पन्न, उपाधि टप्स माविलाई

पोखरा । ‘१७ औं प्याब्सन स्पोर्टस मिट’को उपाधि टप्स माविले जितेको छ । निजी विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित प्याब्सन स्पोर्टस मिटमा सर्वाधिक पदक जितेर टप्स च्याम्पियन हुँदै उपाधि जितेको हो । योसहित प्याब्सन स्पोर्टस मिटमालगातार ६ पटक च्याम्पियन हुँदै दोश्रो पटक ट्रफी माथी कब्जा जमाएको छ ।

गत मंसीर २० गतेदेखि सञ्चालन भएको १७औं प्याब्सन स्पोर्टस मिटमा सम्पन्न मावि सिनियर फुटबलको उपाधि भने स्नो भ्यूले जितेको छ । पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा स्नो भ्यूले शान्तीदिप माविलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो । टिमलाई उपाधि दिलाउन ६३ औं मिनेटमा दृष्य पुनले एक मात्र गोल गरे । उनी सिनियरतर्फको उत्कृष्ट खेलाडी घोषित भए ।

मावि सिनियरतर्फको फुटबलमा मेरी गोल्ड मावि तेश्रो भएको छ। मेरी गोल्डले बालोदयलाई २–१ गोलले पराजित गर्दै तेश्रो भएको हो । मेरी गोल्डका लागि मिलन फगामी र गणेश भट्टचनले गोल गरे भने एक गोल नारायण गिरीले बालोदयका लागि फर्काए । त्यस्तै जुनियरतर्फ फुटबलको च्याम्पियन भने इडेन मावि भएको छ । इडेन र रेन्वो एकेडेमीका बिच भएको फाइनलमा दुवै टिमले निर्धारित समयमा १–१ गोल गरे पछि खेलको नतिजा टाइ व्रेकरमा पुगेको थियो ।

विजयी खेलाडीहरुलाई प्याब्सनका राष्ट्रिय अध्यक्ष डिके ढुङ्गाना, केन्द्रिय सल्लाहाकार गणेशमान सिंह भण्डारी, केन्द्रिय उपाध्यक्षद्वय बिरबहादुर बुढाथोकी र कृष्ण केसी, प्याब्सनका केन्द्रिय सदस्य प्रेम शर्मालगायतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलको अध्यक्षतामा भएको समापन अवसरमा बोल्दै राष्ट्रिय अध्यक्ष ढुङ्गानाले नेपालको समग्र शिक्षाको विकासका लागि निजी विद्यालयहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा नै दक्ष जनशक्ती उत्पादनसंगै सामुदायिक विद्यालयहरुको विकासमा समेत प्रेरणादायी भूमिका खेलेको दाबी गरे ।

अध्यक्ष ढुङ्गानाले शिक्षासंगै खेलकुदको विकासका लागि नेपालमा खेलकुद विश्व विद्यालयको स्थापनका लागि समेत प्याव्सनको तर्फबाट सुझावहरु पेश गरिएको बताउँदै खेलकुदमार्फत समेत राष्ट्रिय पहिचान र व्यावसायिक खेलाडी उत्पादनमा समेत भूमिका रहेको बताए ।

सो अवसरमा १७ औं प्याब्सन स्पोर्टस मिटकी संयोजक उमा लामिछाने र प्याब्सन कास्कीका सचिव पुष्पराज पराजुलीले स्पोर्टस मिट सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे । १७ औं प्याब्सन अन्तर्गत भलिवल छात्रातर्फ १९, छात्रतर्फ १८ टिम, टेवुल टेनिस सिंगल्स छात्रतर्फ ४१ जना, छात्रातर्फ १९, टेवुल टेनिस छात्र डवल्सतर्फ ३९ र छात्रातर्फ १६ टिमको सहभागिता रहेको थियो । त्यसैगरी ट्रायक एण्ड फिल्ड एथलेटिक्सतर्फका विभिन्न इभेन्टस्मा छात्रतर्फ ६५, छात्रातर्फ ५३ जनाको सहभागिता रहेको थियो ।

कक्षा ११–१२ प्लस टु अन्तर्गत एथलेटिक्स छात्रतर्फ १५ र छात्रातर्फ ८ विद्यालय र कक्षा ११–१२ छात्र भलिवलतर्फ १६, छात्रातर्फ ८, बास्केटबल कक्षा १–१० सिनियर छात्रतर्फ १७ र छात्रातर्फ ६ टिमको सहभागिता रहेको थियो । १७ औं प्याब्सन स्पोर्टस सञ्चालन गर्न करिव ५० लाख खर्च भएको कास्की प्याब्सनले जनाएको छ।

प्याब्सन कास्कीमा कास्की जिल्लाका १ सय २ वटा निजी तथा आवासीय विद्यालयहरू सदस्यका रूपमा आवद्ध रहेका र संस्थामा आवद्ध विद्यालयहरूमा ७५ हजार भन्दा बढी विद्यार्थी र ७ हजार ३ सय भन्दा बढीको सङ्ख्यामा शिक्षक कर्मचारीहरू कार्यरत रहेको १७ औं प्याब्सन स्पोर्टस मिट प्रचार समितिका संयोजक डिल्लिराम अर्याले जानकारी दिए ।

You might also like

Comments are closed.