पोखरा । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा भएको १५ औं संस्करणको हिसान कास्की स्पोर्टस मिट २०७९ को उपाधि प्रतिभा माविले जितेको छ । पोखरा रंगशालामा गत पुष ६ गतेबाट जारी १५ औं हिसान कास्की स्पोर्टस मिटअन्तर्गत प्रतिभाले ११ अंक बटुल्दै पहिलोपटक उपाधि जितेको हो । यस अघि लगातार पाँच पटकसम्म न्यू ग्यालेक्सीले उक्त उपाधि जितेको थियो ।
प्लस टु छात्र–छात्रा र विश्विद्यालयतर्फ गरी ६० शिक्षालयहरुको सहभागिता रहेको स्पोर्टस मिट अन्तर्गत सम्पन्न प्रतियोगितामा प्रतिभाले प्लस टु बास्केटबलमा छात्रातर्फ प्रथम, छात्र बास्केटबल तर्फ तेश्रो, भलिबल छात्रतर्फ चौथो हुँदै सर्वाधिक ११ अंकका साथ रनिङ ट्रफी जित्न सफल भएको हो ।
यस अघि बास्केटबल खेल छात्रतर्फ फाइनल खेलको उद्घाटन गण्डकी प्रदेशका यूवा तथा खेलकुद मन्त्री राजिव गुरुङले गरेका थिए । विजेता टिम तथा खेलाडीहरुलाई प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, प्रतियोगिताका संयोजक डा.रामजी शर्मा, हिसान गण्डकीका अध्यक्ष रमाकान्त बराललगायतले ट्रफी मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।
समापन कार्यक्रम हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काको अध्यक्षतामा सम्पन्न भएको थियो । हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिटअन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धाहरु सम्पन्न भएको स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् ।
बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहेको थियो भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहेको संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको थियो ।
यसैगरी व्याडमिन्टन छात्र–छात्रातर्फ टेबुल टेनिसमा ३४–३४ विद्यालयहरुको सहभागिता रहेको थियो । हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च भएको आयोजकले जनाएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्ध रहेका ७२ मध्ये ६० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका थिए भने करिव ३ हजार ५ सय खेलाडीहरुले प्रत्यक्ष रुपमा विभिन्न ४ खेलमा सहभागिता जनाएका थिए । प्रतियोगितामा ९ बटा विश्वविद्यालयहरुको सहभागितासंगै स्पोर्टस मिटमा २५ हजार भन्दा बढी विद्यार्थी, अभिभावकले स्पोर्टस मिटको अवलोकन गरेको प्रचारप्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।
Comments are closed.