मुलुकको अर्थतन्त्र पुनरूत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री दाहाल

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्रको पुनरूत्थान सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलसँग मंगलबार बिहान भएको भेटमा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि उनले वताए ।उनले मन्त्रिपरिषद्को पहिलो बैठकबाट अर्थतन्त्रको सम्बन्धमा विशेष निर्णय भइसकेको बताएका छन् ।

“महासंघ अर्थतन्त्र जोगाऔं भन्ने अभियानमा लागेको छ, यति विहानै भेटघाटका लागि आउनुभयो, त्यही विषयमा तपाईंहरु चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ, सरकारले यसलाई गम्भीर रुपमा लिन्छ”, प्रधानमन्त्रीको भनाइ उधृत गर्दै महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्रीको निजी निवास खुमलटारमा भएको भेटमा मुलुकको अर्थतन्त्रको पुनरुत्थानबारे विचार विमर्श भएको महासंघको भनाइ छ । महासंघ अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिङ्गो निजी क्षेत्रकातर्फबाट बधाई एवं शुभकामना दिदैँ अर्थतन्त्रको वर्तमान अवस्थाबारे अवगत गराएका थिए ।

प्रधानमन्त्री प्रचण्डले महासंघकातर्फबाट यसअघि दिइएको सुुझाव अध्ययन पनि गरिरहेको र यस विषयमा अर्थमन्त्रालय, राष्ट्र बैंक र निजी क्षेत्रलाई पनि राखेर छिट्टै समस्या समाधानमा पहल गर्ने विश्वास व्यक्तगरे ।

महासंघका अध्यक्ष गोल्छाले प्रधानमन्त्री आफै पनि मुलुुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकार रहेकाले यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको स्मरण गराए ।

उनले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रुपमा देखापरेको चालूपूँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुुझाव राखे ।

मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नयाँ सरकारको सिङ्गो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाको जोड थियो ।

You might also like

Comments are closed.