ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेडको एकाइ स्तरमा हुने १९औं वार्षिक साधारण सभा शनिवार हुँदैछ । प्रदेशअन्तर्गत एकाइहरूमा हुने साधारण सभाको पूर्वसन्ध्यामा बिहीबार बैंकले पत्रकार सम्मेलन गरी साधारण सभाको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।
शनिबार प्रदेश स्तरको एकाइहरूमा र पुस १८ गते एकाइ बैठकका प्रतिनिधिहरूले निर्णय प्रमाणित गर्ने बैंकले जनाएका छ । बैंकको विनियम तथा आन्तरिक कार्यविधिहरू एवं अन्य प्रचलित कानुनी व्यवस्थाहरू समेतको पूर्णरूपमा पालना गर्दै बैंक सञ्चालक समितिको मंसिर ९ गते बसेको बैठकले पुस १६ गते साधारण सभा गर्ने निर्णय गरेको थियो ।
साधारण सभा सात वटै प्रदेशहरूमा एकैदिन सहकारी संघ/संस्थाका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा हुने बैंकका अध्यक्ष के.बी उप्रेतीले जानकारी दिए । गत वर्षको साधारणसभाहरु एकाइगत रूपमा छुट्टा-छुट्टै मितिमा हुने गरेको थियो । तर, यसपटक एकैदिन गर्न लागेको भन्दै धेरै प्रतिनिधिहरूको सहभागिता रहने बताए ।
१९ औं वार्षिक साधारणसभा एकाइ स्तरको पुस १६ गते प्रदेश नम्बर–१ को सम्पूर्ण जिल्लाहरूका लागि अतिथि सदन विराटनगर मोरङमा, मधेस प्रदेशका सम्पूर्ण जिल्लाहरूका लागि धर्म संस्था व्याहुत कलवार चौरासी जनकपुरमा, बागमती प्रदेशको सम्पूर्ण जिल्लाहरूको स्काई दरबार बैंकेक सिंहदरबार काठमाडौंमा, गण्डकी प्रदेशका सम्पूर्ण जिल्लाहरूको पोखरा सभागृहमा, लुम्बिनी प्रदेशका सम्पूर्ण जिल्लाहरूको दरबार लन रुपन्देहीमा, कर्णाली प्रदेशका सम्पूर्ण जिल्लाहरूको शुभ होटेल सुर्खेतमा र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जिल्लाहरूको ओम प्यालेस धनगढीमा बिहान ८ बजेदेखि हुनेछ ।
एकाइ साधारण सभाबाट छनौट भएका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने (केन्द्रीय) सभा पुस १८ गते काठमाडौंमा हुने बैंकका अध्यक्ष उप्रेतीले जानकारी दिए । साधारण सभाबाट आगामी ४ वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समिति चयन हुने छन् ।
साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७९/०८० को प्रस्तावित बजेट तथा कार्यक्रम, लाभांश वितरण, कार्यविधिहरू संशोधन, साधारण सभाको एकाइ (स्थानीय) बैठकको निर्णय प्रमाणित गर्ने प्रतिनिधि तथा साधारण सभा (केन्द्रको) निर्णय प्रमाणित गर्न पठाउनुपर्ने, एकाइ प्रतिनिधिहरूको चयन गर्नेलगायतका कार्यसूचीहरू रहेका छन् ।
साधारण सभामा प्रदेश नम्बर–१ मा २ हजार ५५२, मधेश प्रदेशमा २ हजार ३९, बागमतीमा ६ हजार ५०७, गण्डकी प्रदेशमा १ हजार ५३५, कर्णालीमा ७४८ र सुदूरपश्चिम प्रदेशमा ५०४ गरी १५ हजार ७२७ सहकारी संघ-संस्थाका प्रतिनिधिहरु सहभागी हुने बैंकले जनाएको छ ।
Comments are closed.