काठमाडौं । कृषि विकास बैंक स्थापनाको ५६औँ वर्षमा प्रवेश गरेको छ। कृषि क्षेत्रको विकासलाई मुख्य उद्देश्य राखेर स्थापना भएको यो बैंकले २०६२ सालमा नेपाल राष्ट्र बैंकबाट वाणिज्य बैंकको रुपमा मान्यता पाएको थियो ।
बैंकको ५६ औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक कृषि क्षेत्रको मुख्य बैंक बन्न सक्नुपर्ने धारणा राखे ।
बैंकको आर्थिक सामथ्र्य र परिस्थिति हेरेर कर्मचारीको सेवा सुविधाको विषयमा बैंक व्यवस्थापनले उपयुक्त निर्णय लिनुपर्ने अर्थमन्त्री पौडेलले स्पष्ट पारे । अहिले सरकार आफैले पनि खर्च कटौती गरेर मितव्ययी बन्न पहल गरिरहेको बेला बैंकले पनि आफ्नो वित्तीय स्वास्थ्यलाई ध्यानमा राख्नुपर्ने उनको भनाइ छ ।
त्यस्तै, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कृषि विकास बैंकलाई कृषि क्षेत्रमा लगानी गर्ने प्रमुख बैंकका रुपमा केन्द्रीत गरिनुपर्ने बताए। कृषि क्षेत्रमा नयाँ तरिकाले लगानी गर्न खोज्नेका लागि नयाँ किसिमले वित्तीय लगानीका बाटो खोल्नुपर्ने उनको भनाइ छ ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी एकीकृत ऐन लागू भएपछि २०६२ असारदेखि कृषि विकास बैंक पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो । नेपाल राष्ट्र बैंकबाट २०६२ चैतदेखि वाणिज्य बैंकका रुपमा इजाजत पाएको यो बैंकमा ५१ प्रतिशत सेयर सरकार र ४९ प्रतिशत सेयर सर्वसाधारणको रहेको छ ।
संस्थापक सेयरधनीका रुपमा सरकारको रू छ अर्ब ७२ करोड ५८ लाख र सर्वसाधारण सेयरधनीको रू छ अर्ब ४६ करोड २० लाख बराबर सेयर छ । कृषि विकास बैंकले हालसम्म एक लाख ६२ हजार ग्राहकमा रू एक खर्ब ७८ अर्ब कर्जा लगानी गरेको जनाएको छ।
त्यस्तै बैंकमा १८ लाख निक्षेपकर्ताको रू एक खर्ब ७० अर्ब निक्षेप छ । बैंकको अधिकृत पुँजी रू २५ अर्ब, जारी पुँजी रू १८ अर्ब ६२ करोड ६ लाख र साधारण चुक्ता पुँजी रू १३ अर्ब १८ करोड बराबर छ। चालु आर्थिक वर्ष २०७९र८० को अन्त्यसम्ममा कर्जा तथा सापट करिब रू दुई खर्ब एक करोड र कूल निक्षेप रू एक खर्ब ८६ अर्ब ४८ करोड वृद्धिमार्फत वैधानिक कर्जा–पुँजी–निक्षेप अनुपात ९० प्रतिशतभित्र कायम गर्ने लक्ष्य बैंकले लिएको छ ।
त्यस्तै चालु आर्थिक वर्षको छ महिना अवधिमा बैंकको तरलता अनुपात १५ दशमलव २७ प्रतिशत र निष्क्रिय कर्जा एक दशमलव ६८ प्रतिशत रहेको बैंकले जनाएको छ ।
Comments are closed.