मातृसेवा प्रतिष्ठानद्वारा विद्यार्थीलाई छात्रवृत्ति प्रदान

काठमाडौं । मातृसेवा प्रतिष्ठान नेपालले गरिब तथा जेहेनदार विद्यार्थीको लागि विभिन्न नाममा छात्रवृत्ति वितरण गरेको छ । पाल्पाली समाज पोखराको व्यवस्थापनमा शनिबार आयोजित कार्यक्रममा समता शिक्षा निकेतन र आनन्द ज्योति माविका करिब २ सय विद्यार्थीलाई करिब १२ लाख रुपैयाँ छात्रवृत्ति रकम वितरण गरिएको छ ।

कुनै पनि दाताको सहयोगबिनै प्रतिष्ठानले प्राविधिक विषय अध्ययनका लागि निरन्तर छात्रवृत्ति वितरण गर्दै आएकोमा यसपटक समता शिक्षा निकेतनका १ सय ९२ र आनन्द ज्योति माविमा जेटिए अध्ययनरत १० विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको पूर्वमन्त्री एवं प्रतिष्ठानका संस्थापक अध्यक्ष हरि पाण्डेले जानकारी दिए । प्रतिष्ठानले यसअघि विभिन्न नाममा देशभरका गरी ६ सय २५ जना विद्यार्थीलाई पूर्ण तथा आंशिक छात्रवृत्ति वितरण गरिसकेको पाण्डेले बताए ।

यसपालि समताका कक्षा नर्सरीदेखि ९ सम्मका गरी प्रतिविद्यार्थी ४ हजार र व्यवस्थापन खर्च १५ सय गरी कुल ५ हजार ५ सय र आनन्दज्योतिका जेटिए पढ्ने प्रतिविद्यार्थीले १५ हजार रुपैयाँ प्राप्त गरेका हुन् । छात्रवृत्ति रकम वितरण गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शिक्षा र स्वास्थ्य निशुल्क गर्ने राज्यको नीति नै भएकोले गण्डकी प्रदेश सरकारले पनि यस अभियानलाई अघि बढाउन सहयोग गर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष छत्रधर आत्रेय, पाल्पाली समाज पोखराका अध्यक्ष रेशम रचक, समाजका पूर्व अध्यक्ष कुलप्रसाद घिमिरेलगायतले मातृसेवा प्रतिष्ठानको कार्यको प्रशंसा गरेका थिए ।

प्रतिष्ठान उपाध्यक्ष तुलसा पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको संचालन कार्यक्रम संयोजक खेम सारु र स्वागत समाजका पूर्व अध्यक्ष कुलप्रसाद घिमिरेले गरेका थिए । पोखराको समतामा हाल १ हजार बढी विद्यार्थी रहेकोमा छात्रवृत्ति रकमले विद्यार्थीलाई पठनपाठनमा सहयोग मिल्ने समता स्कुलका प्राचार्य झलकप्रसाद पौडेलले बताए । कार्यक्रममा समता स्कुलका संस्थापक उत्तम सञ्जेलको पनि उपस्थिति थियो ।

You might also like

Comments are closed.