काठमाडौं । उद्योगी व्यवसायीका समस्याप्रति राज्य समयमै गम्भीर नहुँदा देशका विभिन्न ठाउँमा व्यवसायीहरूबाट आत्मदाह, आत्महत्या जस्ता अत्यन्त दुःखद एवं गम्भीर प्रकृतिको घटनाहरू भइरहेको प्रति नेपाल निर्माण व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण जनाएको छ।
‘नयाँ सरकार गठन भई अर्थतन्त्रले गति लिने आशा गरिएकै बेला सार्वजनिक भइरहेका यस्ता घटनाले निर्माणसहित सबै खाले उद्योगमा लागेका व्यवसायीहरू सहित देश विदेशमा रहेका तमाम नेपालीहरूलाई मर्माहत बनाएको छ’ महासंघका महासचिव रोशन दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
स्वदेशभित्र नै उद्यम एवं व्यवसाय गरी आत्म सम्मानका साथ जीवन निर्वाह गर्न चाहने व्यवसायीहरूले परिबन्धमा परी बाध्यतावस् मृत्युवरण गर्दा राज्य, राज्यका सञ्चालक र नीति तथा नियम परिपालना गराउने निकायहरूमाथि नै गम्भीर प्रश्न चिन्ह खडा भएको महसुस महासंघले गरेको विज्ञप्तिमा जनाइएको छ।
‘अन्य व्यवसायीरू झै निर्माण व्यवसायीहरू पनि राज्यबाट निर्माण सम्पन्न परियोजनाहरूको भुक्तानी वषौंदेखि नपाउँदा मानसिक रुपमा अत्यन्त प्रताडित मात्र भएका छैनन्, ‘सप्लाई चेन’ हरू समेत अस्तव्यस्त भएका छन्’ विज्ञप्तिमा भनिएको छ।
यस बाहेक निर्माण व्यवसायीहरूले मूल्यवृद्धि, तरलता अभाव, राष्ट्र बैंकको अस्थिर तथा अव्यवहारिक नीति नियम, क्रसर संचालनमा देखिएको अवरोध, नीतिगत अस्पष्टता, राज्यका संयन्त्रबीचको समन्वय अभाव जस्ता ज्वलन्त समस्या झेलिरहेको महासंघको भनाइ छ । यी र यस्ता नीतिगत पक्षहरूको तत्काल सम्बोधन नहुने हो भने समग्र अर्थतन्त्रको चक्रमा गम्भीर असर परी आगामी दिनमा अझ दुःखद् घटनाहरू हुन सक्ने खतरा देखिएको भन्दै महासंघले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।
यस्ता दुःखद् घटनाबाट बेलैमा शिक्षा लिएर संविधान प्रदत्त गरी खान पाउने अधिकार सुनिश्चित गर्न र व्यवसायीलाई आफ्नो कारोबार निर्धक्क गर्ने वातावरण सिर्जना गरिदिन महासंघले सरोकारवाला सबै समक्ष अपील गरेको छ।
Comments are closed.