काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेश कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी छन् ।
सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष श्रेष्ठले शनिबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै रेशम चौधरीलगायतका टीकापुर घटनाका बन्दीहरुलाई रिहाई नगरेसम्म संघ र प्रदेश कतै पनि सरकारमा सहभागी नहुने बताएकी छन् ।
सरकारले आफूहरुको माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जान सक्ने उनको भनाइ छ। आफ्नो पार्टीको माग र मुद्धा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा पनि आफूहरु नरहेको उनको भनाइ छ ।
अध्यक्ष श्रेष्ठले टिकापुर घटनामा निर्दोष रहेका आफ्ना पार्टीका नेता, कार्यकर्ताहरुलाई जेलमुक्त गर्ने काममा ढिलाइ नगर्न पनि सरकारलाई आग्रह गरेकी छन् ।
Comments are closed.