गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह

पोखरा । गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई पनि समावेश गर्न चीनलाई होटल संघ पोखरा नेपालले अनुरोध पत्र पठाएको छ । चीनले यही माघ छ गते आफ्ना नागरिकका लागि सार्वजनिक गरेको गन्तव्य राष्ट्रको सूचीमा नेपाललाई पनि समावेश गर्न आग्रह गर्दै होटल संघ पोखरा नेपालले काठमाडौं स्थित चिनिया राजदूतावासलाई एक आग्रह पत्र बुझाएको छ।

संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालका लागि चिनिया राजदूत छन सोङलाई लेखेको पत्रमा कोभिड १९ केही मत्थर हुँदै गर्दा चीनले गन्तव्य मुलुकको सूची सार्वजनिक गर्नुलाई सकारात्मक रुपमा लिइएको उल्लेख गरिएको छ। सन् २०२३ मा चिनिया पर्यटकलाई स्वागत गर्न नेपाली पर्यटन व्यवसायी तयार र आसावादी भएकै बेला चीनका तर्फबाट सार्वजनिक भएको २० गन्तव्य मुलुकको सूचीमा नेपाल नपर्दा संघ निराश भएको जनाइएको छ ।

कोभिडसँगै भ्रमण स्थगनको करिब तीन वर्षको अन्तरालपछि चीनले सार्वजनिक गरेको सूचीअनुसारको व्यवस्था आगामी सोमबारबाट लागू हुँदैछ। दुतावासलाई लेखिएको पत्रमा सार्वजनिक गरिएको देशहरुको सूचीलाई पुनःविचार गरी नेपाललाई पनि त्यसमा समावेश गर्न आग्रह गरिएको छ।

उक्त सूचीमा नेपाललाई समेट्न सकिए कोभिड १९ बाट थला परेको नेपाली पर्यटनलाई पुनरुत्थान गर्न र दुई देशबीचको सदिऔं पुरानो सम्बन्ध थप प्रगाढ बन्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

घुम्नका लागि नेपाल प्राकृतिक रुपमा सुन्दर र सांस्कृतिक तथा ऐतिहासिक रुपमा धनी रहेको स्मरण गराउँदै यहाँको हावापानी पनि चिनियाँ पर्यटकको लागि उपयुक्त रहेको पत्रमा बताइएको छ। चिनियाँ पर्यटक विगतमा नेपाल आउँदा पोखराको प्याग्लाइडिङ निकै मन पराउने गरेको र पदयात्रा र हिमाल आरोहण जस्ता गतिविधिमा पनि उनीहरु सरिक हुने गरेको उल्लेख पनि गरिएको छ।

पोखरामा चिनियाँ पर्यटकका लागि आवश्यक पर्ने सबै प्रकारका पर्यटकीय सुविधा उपलब्ध रहेको र चाइना सीएएमसी इञ्जिनियरिङ कम्पनीले चीनकै एक्जिम बैंकको सहुलियतपूर्ण ऋण सहायतामा निर्माण गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल समेत यही माघ एक गते उद्घाटन गरिएको विषय पनि स्मरण गराइएको छ।

You might also like

Comments are closed.