काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिकमको दुर्गमका कार्यालयमा कर्मचारीको अभावमा सेवा प्रभावकारी हुन नसकेको बताएकी छन् ।
नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा बोल्दै शर्माले समयमै मर्मत हुन नसकेको समस्यालाई छिट्टै समाधान गर्नुपर्ने बताउँदै ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिन जरुरी रहेको बताइन् ।
उनले सरकारको सोंच र लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित मुलुकका सुगमदेखि अतिविकट स्थानमा नाफारहित भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवा उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको भएको बताएकी छन् । आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन मन्त्री शर्माले निर्देशन दिइन् ।
उनले नवीन प्रविधि अवलम्बन गर्दै आधुनिक सेवा प्रवाहमा कम्पनीको प्रशसनीय कार्य रहेको भन्दै आगामी दिनमा यसलाई अझ व्यापक बनाउन पनि निर्देशन दिएकी छन् ।
कम्पनीले ३ हजार ८ सय कर्मचारीमार्फत देशभरिका एक करोडभन्दा बढी ग्राहकसँग सेवा पुर्याएको भन्दै आगामी दिनमा जनताले प्रत्यक्ष लाभ महसुस गर्ने गरी सेवालाई परिमार्जन र उत्पादन गर्दै थप जनतासम्म पुग्नुपर्ने बताइन् । मन्त्री शर्माले समयमै आयोजनाको काम पूरा गर्न पनि निर्देशन दिएकी छन् ।
Comments are closed.