काठमाडौंका ढुङ्गेधारा र भूमिगत पानी पुनर्स्थापना अध्ययन गर्न सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका ढुङ्गेधारा र भूमिगत पानी पुनर्स्थापना अध्ययन गर्न सम्झौता गरेको छ ।

काठमाडौं महानगरले काठमाडौंका ढुङ्गेधारा र भूमिगत पानी पुनर्स्थापनाको अध्ययन गर्न इञ्जिनियरिङ् अध्ययन संस्थान, पुल्चोक क्याम्पससँग सम्झौता गरेको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र क्याम्पस प्रमुख डा. इन्द्रप्रसाद आचार्यबीच आइतबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

ढुङ्गेधारा प्रणालीसँग सहरी विकासको सृङ्खला जोडिएको छ । सहरलाई मानव बसोबास योग्य बनाइ राख्न पानीका प्राकृतिक स्रोत तथा यसको पुनभरणको रैथाने विधिलाई बैज्ञानिक कोणबाट अध्ययन गर्नु पर्ने आवश्यकता महसुस गरेर इञ्जिनियरिङ् अध्ययन संस्थानसँग सम्झौता गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको भनाइ छ ।

अध्ययनमा हिटी (ढुङ्गेधारा) निर्माण, उपयोग तथा संरक्षण सम्बन्धी रैथाने ज्ञान र सीप, वर्तमान अवस्था, प्रणालीसँग धार्मिक, सामाजिक र परम्परागत स्थानहरुको सौन्दर्यको पक्ष समेटिनेछ । यस्तै प्राचीन प्रणाालीसँग खानेपानीका आधुनिक पाइप लाइन विस्तारको सम्बन्ध हेरिनेछ । त्यस्तै आधुनिक विकाससँग परम्परागत ढुङ्गे धारा प्रणाली संरक्षणको योजना र विकासमा अध्ययन गरिनेछ ।

दुई पक्षीय सहकार्यबाट मानव बसोबासका लागि महत्वपूर्ण तथ्यांक प्राप्त हुने क्याम्पस प्रमुख आचार्यको भनाइ छ ।विज्ञहरुबाट काठमाडौं उपत्यकाको ढुङ्गेधारा प्रणाली र भूमिगत पानीको सतह सम्बन्धी घटना क्रम अध्ययन गर्नु सम्झौता बमोजिमको मुख्य काम हो । जल विज्ञान अवस्थाको अध्ययन विश्लेषणका लागि दुवै पक्षको सहभागिता रहनेछन् । सम्झौता २ बर्षका लागि हो ।

स्मारक तथा अन्य क्षेत्रमा भएका ढुङ्गेधारा सम्बन्धी अभिलेख तयार गर्नु, तस्विर संग्रह गर्नु सम्झौताको अर्को महत्वपूर्ण काम हो । अध्ययनबाट देखिएको अवस्थाका आधारमा आकाशे पानी संकलन तथा पुनभरण, ढुङ्गेधाराको दिगो उपयोग र संरक्षण सम्बन्धी प्रस्ताव तथा शिफारिस दिइनेछ ।

You might also like

Comments are closed.