दुलेगौंडा, १३ फागुन
सहिद कृष्ण माविको शैक्षिक स्तरवृद्धि एवम् प्राविधिक शिक्षा सञ्चालनार्थ हुन लागेको श्रीमद् भागवत् धनधान्याञ्ज विराट शैक्षिक ज्ञान महायज्ञको तयारी तिव्र पारिएको छ ।
तनहुँको शुक्लागण्डकी–३ कवासेमा अवस्थित विद्यालयमा फागुन १७ देखि हुने महायज्ञको ६० प्रतिशत बढि तयारी सकिएको सचिवालय संयोजक राजन रिमालले जानकारी दिए । उनले दानदाता, देश विदेशमा रहेका यहाँका शिक्षाप्रेमीहरुलाई पत्राचार गर्ने कार्य अन्तिम चरणमा पुगेको उल्लेख गरे ।
प्रचार प्रसारलाई तिव्रता दिइनुका साथै भेटघाटको काम जारी रहेको प्रवक्ता पर्शुराम भण्डारीले बताए । ‘पत्रपत्रिका, सञ्चारमाध्यम, माइकीङबाट व्यापक प्रचार भइरहेको छ,’ उनले भने, प्रत्यक्ष भेटेर पनि सहभागिता र सहयोगको लागि अपिल गरेका छौं ।’ समयसापेक्ष प्राविधिक शिक्षा र भौतिक गुणस्तर वृद्धिमा संकलित रकम खर्चिने विद्यालयका प्रधानाध्यापक भुला प्रसाद भण्डारीले जानकारी दिए । उनले महायज्ञपछि कक्षा १२ सम्म सञ्चालन गर्न सहयोग पुग्ने उल्लेख गरे ।
भागवत रसिक युवा गुरु श्री ऋषिराम महाराज जीको प्रमुख वाचकत्वमा हुने महायज्ञ फागुन २५ गतेसम्म सञ्चालन हुनेछ । ‘मुल समिति अन्र्तगत गठन गरिएको ३१ वटै उपसमितिले आफ्नो कार्यलाई तिव्रता दिइरहेका छन्,’ मुल संयोजक एवम् वडाध्यक्ष राम कुमार श्रेष्ठले भने, ‘सबैको सहयोगले विद्यालयको रुप परिवर्तन गरिने छ ।’
महायज्ञमा दैनिक नित्य पुजा एवंम पाठपारायण, चेतनामुलक झाँकीसहितको संगीतमय कथा प्रवचन, लक्ष्यवर्तीदिप प्रज्वलन, पितृ उद्धार, चौरासी पुजा, ब्रतबन्ध, ग्रहशान्ती, तुलादान समावेश गरिएको प्रवक्ता भण्डारीले जानकारी दिए ।
महायज्ञ पूर्व विहान कलश यात्रा निकालिने विद्यालयले जनाएको छ । कलश यात्राले दुलेगौंडा बजार परिक्रमा गर्नेछ । महायज्ञको पूर्व मन्त्री एवम् गण्डकी प्रदेशका सांसद आशा कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ । सो विद्यालय शुक्लागण्डकीका प्रथम सहिद कृष्ण प्रसाद पौडेलको सम्झनामा वि.स. २०५१ सालमा स्थापना भएको हो ।
Comments are closed.