बुटवल । नेपाल र छिमेकी मुलुक भारतको खुल्ला सिमानाको फाईदा उठाउँदै पछिल्लो समय गाडीका पार्टपुर्जाहरुको अवैध ओसारपसार तथा कारोबारमा वृद्धि भएको छ । जसका कारण वैधानिक रुपमा कर तिर्ने व्यवसायीहरु मारमा परेका छन् भने, राज्यलाई प्राप्त हुने राजश्वको ठुलो हिस्सा पनि गुमिरहेको छ ।
विश्वव्यापी महामारी कोभिड-१९ का कारण आक्रान्त भएका व्यवसायीहरुलाई बैंकिङ नीतिमा आएको परिवर्तन तथा चर्को ब्याजले व्यवसाय धान्न मुस्किल भएको अवस्थामा यस किसिमका अवैध कारोबारका कारण व्यवसायबाट नै पलायन हुने अवस्थामा पुगेका छन् ।
यस समस्याका कारण व्यवसायीहरु मात्र मारमा परेको नभई राष्ट्रलाई नै हानी भईरहेको सन्दर्भमा नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र बुटवल अटो इन्जिनियरिङ एसोसियसनले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा ज्ञापनपत्र बुझाएका छन् ।
व्यवसायी र राज्य दुबै पक्ष मारमा परेको कारण यसलाई साझा समस्याको रुपमा लिई सरोकारवाला निकाय, संघसंस्था, भन्सार विभाग तथा प्रहरी प्रशासनको संयुक्त पहलमा अवैध कारोबारलाई निरुत्साहित गर्ने र अवैध कारोबारीहरुलाई कारवाहीको दायरामा ल्याउनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
Comments are closed.