सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीको २५ औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीले आफ्नो स्थापनाको २५औं वार्षिकोत्सव मनाएको छ। रूपन्देहीको भैरहवामा निर्माण सम्पन्न गरी संचालनको अन्तिम तयारीमा रहेको पाँचतारे स्तरको सिद्धार्थ इन्टरनेशनल होटल परिसरमा औपचारिक कार्यक्रम आयोजना गरी वार्षिकोत्सब मनाएको हो।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले मुलुकको पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रले महत्वपूर्ण योगदान दिएको बताए। अर्थतन्त्र विकासको मुख्य आधार पर्यटन क्षेत्र भएको बताउँदै मुख्यमन्त्री गिरीले निजी क्षेत्रले यसतर्फ खेल्दै आएको भूमिकाको प्रशंसा गरे ।उनले प्रदेश सरकारले कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधारसँगै पर्यटन क्षेत्रलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गर्दै आएको जानकारी गराए ।

त्यस्तै, पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले सिद्धार्थ समूहले आर्थिक तथा पर्यटन विकासमा अनुकरणीय तथा उल्लेखनीय कार्य गर्दै आएको बताए । पर्यटन उद्योगले आर्थिक विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेकाले व्यवसाय संचालनका अनुकुल वातावरण सिर्जना गर्ने कुरालाई आफूले सधैं प्राथमिकतामा राखेको बताए ।

त्यस्तै पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले सिद्धार्थ समूहले पर्यटन क्षेत्र प्रवर्द्धनमा ठूलो योगदान दिएको भन्दै प्रशंसा गरे। ग्रुपका अध्यक्ष चिन्तामणि (लक्ष्मण) न्यौपानेले आफ्नो जन्मभूमि गुल्मीबाट आएर भ्रमण वर्ष १९९८ को सन्दर्भमा वि.स. २०५४ माघ २३ गते टीकापुरमा खाजा पसलका रुपमा सुरु गरेको व्यवसाय पाँच तारे होटलसम्म आइपुग्नुमा सबैको साझा मिहिनेतको प्रतिफल रहेको बताए ।

अन्य व्यवसायीलाई पनि उनले नेपाल पर्यटनको प्रचुर सम्भावना भएको देश भएकाले परिणामको आशा राखेर निराश नभइ मिहिनेत गर्न सुझाब पनि दिए । २५ औं वार्षिकउत्सवको अवसरमा प्रत्येक महिना लक्की ड्र गरेर हरेक शाखामा एक जना ग्राहकलाई २५ वर्ष अघिकै सुरुवाती मूल्य बराबर रू १०० मा होटलको रुम उपलब्ध गराउने छ ।

साताभरी देशैभरका शाखामा कतिपय प्याकेज मूल्यमा २५ प्रतिशतसम्म छुट दिने लगायत सरसफाइ तथा स्वास्थ सिविर, वृद्धाश्रममा निःशुल्क भोजनलगायतका कार्यक्रमहरू समेत राखिएका छन्। समूहका प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद न्यौपानेका अनुसार सिद्धार्थ समूहका होटल, रिसोर्ट र क्याफे, कृषी, ट्रेडिङ, होटेल व्यवस्थापन एकेडेमी गरी ३२ कम्पनी पुगेका छन्।

न्यौपानेका अनुसार जुम्लाको ताम्रा, इलामको कन्याम चियाबगान, कैलालीको धनगढी र कास्कीको पोखरामा समेत होटल तथा रिसोर्ट सञ्चालन गर्ने योजना रहेको छ। समूहका सबै शाखामा गरी हाल १ हजार ६ सय जनाले रोजगारी पाएका छन्।

You might also like

Comments are closed.