सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार : अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २३ औं वार्षिक साधारणसभा तथा तेस्रो राष्ट्रिय अधिवेशनको आज काठमाडौंमा उद्घाटन गर्दै मन्त्री पौडेलले निजी क्षेत्र नै आर्थिक समृद्धिको आधार रहेकाले सरकारले सबैलाई साथ लिएर अघि बढ्ने बताए ।

अहिले देशको आर्थिक अवस्था त्यति सन्तोषजनक नभएको बताउँदै सरकार, निजी क्षेत्र र आम नागरिकहरुका बीचको सहकार्यबाटै अहिलेको अवस्थाबाट पार पाउन सकिने पनि उल्लेख गरे। विगतको अनुभवका आधार र अहिलेको परिस्थितिबारे सुक्ष्म अध्ययन गरेर त्यसैअनुसारका कामहरुलाई अघि बढाएको पनि पौडेलको भनाई छ। अहिलेको सरकारको मुख्य उद्देश्य आर्थिक क्षेत्रका समस्या समाधान गर्ने रहेको पनि पौडेलले बताए।

त्यस्तै, कार्यक्रममा उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले महासंघले पनि साना तथा मझौला उद्योगहरुको रुपमा रहेको मसलन्द उद्योगको विकासका लागि सरकारसँग पहल गर्ने बताएका छन्।

उनले नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनतर्फ इंगित गर्दै वरिष्ठ उपाध्यक्षका चार जना आंकक्षीलाई मिल्न आग्रह गरे । वरिष्ठ उपाध्यक्ष नै अर्कोपटक स्वतः अध्यक्ष रहने विधानमा व्यवस्था भएकाले आफू अध्यक्ष हुँदा विधान संशोधन गरेर सबैलाई मिलाउन पहल हुने बताए ।

You might also like

Comments are closed.