प्रतिभा माविकाे पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

पोखरा । पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले शैक्षिकसत्र २०७८ को वार्षिक पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

पोखरा महानगरपालिका शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा आचार्यले विद्यार्थीहरुलाई भर्ना गर्दा सिट संख्या अपुग भएर भर्ना गर्न नसकिएका अभिभावकहरुको गुनासो शिक्षा महाशाखामा सुन्नु पर्दा विद्यालय शिक्षा र नतिजाका क्षेत्रमा निकै अगाडि फड्को मारेको बताए । विद्यालयमा सूचना र प्रविधिको माध्यमबाट विद्यालयको पठन पाठन भएकोमा आफू खुसी भएको आचार्यले बताए ।

विद्यालयका संस्थापक प्राचार्य किरण सापकोटाले विद्यालयको प्रगति विवरण तथा भावी योजनाहरु प्रस्तुत गर्दै विद्यालयभित्र अझ नवीनतम सोच र नवीनतम कार्यक्रमका साथ सम्पूर्ण छोरा छोराहरुको उज्ज्वल भविष्यलाई अगाडि बढाउन आफूलाई विद्यालय सञ्चालक समितिले संस्थापक प्राचार्यको जिम्मेवारी दिएकोमा उक्त जिम्मेवारीलाई हार्दिकतापूर्ण ग्रहण गरेको बताए ।

विद्यालयले शैक्षिकसत्र २०७८ सालको शैक्षिक पुरस्कारका साथै अतिरिक्त क्रियाकलापका विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरेको थियो । विद्यालय सञ्चालन समितिका अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका अभिभावक तथा कन्या क्याम्पसका क्याम्पस प्रमुख सुरेश मानन्धरले शुभकामना मन्तव्य दिएका थिए ।

विद्यालयका सह प्राचार्य बुद्धिमोहन पौडेल र विद्यार्थी जस्मिना मल्लले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन विद्यालयका सह प्राचार्य प्रदीप खनाल र विद्यार्थीहरु सम्पूर्ण पौडेल, स्वीकृति ताम्रकार, सेरिना थापा र जस्मिना मल्लले गरेका थिए । कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत भएको विद्यालयका नेपाली विभाग प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

You might also like

Comments are closed.