काठमाडौं महानगरद्वारा लक्ष्यको ४३.८२ प्रतिशत राजस्व संकलन

काठमाडौं। काठमाडौं महानगरपालिकाले चालू आर्थिक वर्षको अर्धवार्षिक अवधिमा लक्ष्यको ४३ दशमलव ८२ प्रतिशत राजस्व संकलन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १३ दशमलव ४० प्रतिशत बढी हो ।

चालू आवका लागि कामपाले रु १० अर्ब ३९ करोड राजस्व असुल गर्ने लक्ष्य लिएको छ। विगतका वर्षमा विश्वभरि फैलिएको कारेना महामारीका कारण लक्ष्यमा पुग्न कठिन भए पनि यस वर्ष अहिलेकै अनुपातमा जाँदा लक्ष्य हासिल गर्न सहज हुने महानगरपालिकाको राजस्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिए ।

चालू आवको पुस सम्ममा रु चार अर्ब ६० करोड असुल गरिसकेको कामपाले जानकारी दिएको छ। यस वर्ष महानगरपालिकाका लागि बाह्य अनुदान रकम कम भए पनि आन्तरिक राजस्व असुलमा भने खासै समस्या नभएको विभागका प्रमुख डा अधिकारीले जानकारी दिए । पछिल्लो समय कमपाले राजस्व संकलनका लागि थप कडाइ गरेसँगै असुल उपर गर्न सहज भएको बताइएको छ ।

मुख्यगरी सम्पत्ति कर, घरबहाल घर, व्यवसाय कर, विज्ञापन कर, मनोरञ्जन कर, भूमिकर, मूल्य अभिवृद्धि कर र सवारी साधन करसहित ३६ करका शीर्षकमा महानगरपालिकाले राजस्व असुल गर्दै आएको छ।

विगतका वर्षमा करको दायरामा पूर्णरुपले ल्याउन नसकेका क्षेत्र मनोरञ्जन क्षेत्रअन्तर्गत रहेका चलचित्र हल, दोहोरी, डान्स रेस्टुरेन्ट, फन पार्क, कवाडी करको क्षेत्रलाई पनि कानुनको दायरामा ल्याइएकाले पनि राजस्व सङ्कलनमा लक्ष्य हासिल गर्न सक्ने विश्वास महानगरपालिकाले लिएको छ ।

राजस्व असुलीका लागि सहज बनाउनकै लागि महानगरपालिकाले २०७७ साल असोज १ गतेदेखि करदाताको सङ्ख्यालाई डिजिटल प्रणालीमा राखेको छ। त्यसमा हालसम्म तीन लाख एक हजार छ सय २२ करदाता सामेल भएका छन्। कामपाले ठूला करदाताबाट विगत लामो समयदेखिको करिब रु ५० करोड असुल गर्नुपर्ने जनाएको छ ।

You might also like

Comments are closed.