अटोमोबाइल बिलासिताको होइन, आवश्यकताको साधन हो : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल बिलासिताको साधन नभइ आवश्यकताको साधन भएको बताएका छन् ।

अटोमोबाइल व्यवसायीहरुको छाता संस्था नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको ४६औं साधारणसभाको अवसरमा शुक्रबार बोल्दै पौडेलले मूलभूत रुपमा अटोमोबाइल आवश्यकताको साधन रहेको बताएका हुन् ।

नाडाले अटोमोबाइललाई बिलासिताको नभइ आवश्यकताको साधन मान्न सरकारसमक्ष माग गर्दैै आइरहेको छ । सोही मागप्रति सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले महंगा गाडीहरुलाई बिलासिताको साधन मान्न सकिएपनि समग्रमा अटोमोबाइल आवश्यकताको साधन भएको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले नेपालको आर्थिक क्षेत्रमा सकारात्मक सुधारका संकेतहरु देखिएको पनि बताए । रेमिट्यान्स, डलर सञ्चिती सन्तोषजनक नरहेपनि सकारात्मक रहेको बताएका हुन् ।

त्यस्तै, कार्यक्रममा बोल्दै नाडाका अध्यक्ष ध्रुवबहादुर थापाले नेपालको अटोमोबाइल क्षेत्र इतिहासकै पीडादायी अवस्थामा रहेको बताएका छन् ।सरकार र राष्ट्र बैंकको नीतिका कारण अटोमोबाइल व्यवसाय मारमा परेको उनको भनाइ छ । साधारणसभाले नाडाका अध्यक्ष ध्रुव थापा, महासचिव सुरेन्द्र कुमार उप्रेती (सुरेश) र कोषाध्यक्ष मीलनबाबु मल्लको प्रतिवेदन पारित गरेको छ ।

सो अवसरमा नाडाले उत्कृष्ट ५ जना ट्राफिक प्रहरीलाई नगदसहित सम्मान समेत गरेको छ । नाडाको साधारणसभा प्रत्यक्ष र भर्चुअल दुवै माध्यमबाट भएको थियो ।

You might also like

Comments are closed.