सरकारको इभी नीति अस्थिर भयो

संभावना भएर पनि रोजाइ बन्न नसकेको इलेक्ट्रिक भेइकल (इभी) संसारभर आकर्षणको सवारी बनेको छ । इभीको विश्वव्यापी प्रभाव नेपाली बजारमा समेत देखिएको छ । नेपाली बजारमा इभी देखिन थालेको धेरै भएको छैन । इभीले नेपाली बजारमा ठाउँ जति लिएको छ, त्यस पछाडि इभी व्यवसायीको सानो लगाव र त्याग छैन । नेपाली बजारमा इभीलाई स्थापित गर्ने अभियानमा सुरु देखि नै सक्रिय बिवाइडीका लागि नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका प्रवन्ध निर्देशक एवं नाडाका कार्यसमिति सदस्य  यमुना श्रेष्ठसँग इभीका सन्दर्भ भित्र रहेर आर्थिक आवाजले कुराकानी गरेको छ । कुराकानीको सम्पादीत अंश :

नेपालमा इभी स्थापित गराउने अभियानमा हुनुुहुन्छ, कस्तो छ इभीको बजार ?

सन् २०१७ को मार्चका हामीले बिवाइडीका १० वटा गाडी भित्र्याएर परीक्षण गरेका थियौं । त्यो बेला विद्युतीय सवारी साधन प्रति हेर्ने दृष्टिकोण नै फरक थियो अझ त्यस माथि चाइनिज ब्राड भनेपछि जोकोहीले खरिद गर्न आँट नगर्ने अवस्था थियो । ४८ हजार डलर मा खरिद गरेको गाडी ८०र/८५ लाख रुपैयामा बिक्री गर्दा पनि किन्ने ग्राहक पाउन नसक्ने अवस्था थियो । हामीले हरेस खाएनौं, विद्युतीय गाडीलाई स्थापित गर्नु भनेको हाम्रो जस्तो जलस्रोतको धनी देश र जलविद्युतको संभावना भएको देशको लागि अझै महत्वपूर्ण छ भन्ने कुरा बुझाउन हामी लाग्यौं । विस्तारै विभिन्न क्षेत्रमा स्थापित व्यक्तिहरुले इभी चढ्नुभयो । उहाँहरुको अनुभव र हामीले दिएको सेवाले उहाँहरुले पाएको सन्तुष्टिले हामीलाई सहज हुँदैछ । ७ वर्ष संघर्ष गर्दा नेपालको परिभेषमा पनि इभी धेरै प्रभावकारी रहेछ भन्ने कुराको स्थापित भएको छ ।

इभी स्थापित गर्दाका संघर्षका दिनलाई कसरी सम्झनुहुन्छ ?

इभीलाई स्थापित गर्नको लागि हामीले व्यक्तिदेखि सरकारका विभिन्न निकायको ढोका ढक्ढकाएका छौं । हामीले इभीलाई भित्र्याउँदै गर्दा उपभोक्ताका इभी प्रतिको धारणा सकारात्मक थिएन, राज्यको नीति अस्पष्ट थियो, सरकारको सहयोग थिएन । बिस्तारै सरकार सकारात्मक बन्यो । सरकारका निकाय आफैले केही स्याम्पलको रुपमा गाडी लिने काम भयो । यतिसम्म कि नाडाले समेत ‘अटो शो’ मा इभीका गाडी राख्नको लागि ठाउँ नदिएको अवस्था थियो । हामीले बिस्तारै सबैलाई बुझाउँदै गयौं र यस प्रतिको धारणालाई केही परिवर्तन गर्न सक्षम भएका छौं ।

इभीप्रति राज्यको नीति कति सकारात्मक छ ?

सरकारको नीतिको कुरा गर्दा २ वर्ष ४ पटकसम्म नीति परिवर्तन भएको छ । यसको आयातमा लाग्ने राजस्व, स्पेयर्स पार्टसमा लाग्ने राजस्वमा तादम्यता छैन । व्यापारीलाई, प्रयोगकर्तालाई जोखिमको अवस्था सिर्जना भएको छ । राजस्व बढाउँदा पनि निश्चित मात्रामा बढाउन सकिन्छ तर नीति नै स्थिर नहुने सोंच्नै नसकिने मात्रामा कर बढाउने काम भएको छ । एउटा सरकारले बढाउने, अर्कोले घटाउने भइरहेको छ । जे गर्नुछ एकै पटक गरे अस्थिर अवस्था नआउने र हामीले पनि सोही अनुसार योजना बनाउन सजिलो हुने थियो । हामी व्यवसायीसँग पनि छलफल गरेर नीति बनाउने काम गरेको भए राम्रो हुने थियो ।

गैर–इभीसँगको प्रतिस्पर्धा पनि त चुनौतीकै विषय होला ?

पछिल्लो समय फ्युलवेसका सवारी साधन भन्दा इभीप्रतिको आकर्षण तिव्र रुपमा बढेको छ । तथापि नयाँ बस्तुले अगाडिदेखि नै प्रयोग गर्दै आएको बस्तुलाई विस्थापित गर्ने भन्ने कुरा सजिलो होइन समय लाग्छ नै । अर्को कुरा उपभोक्ताका आ–आफ्ना रोजाई पनि फरक फरक हुन्छन् । इभी भित्रका कमी कमजोरी होलान्, यसलाई सुधार गर्दै लैजान सकिन्छ तर इभीका ग्राहकहरुले राम्रो प्रतिकृया दिइरहनुभएको छ । कर नबढेको भए माग थेग्नै नसकिने अवस्थामा पुग्ने थियो । अर्को तिर ग्राहक पनि अर्को सरकार आएपछि कर घट्नसक्छ भन्ने आशामा बस्छन् । करको दायरा स्थिर भएको अवस्थामा प्रयोगकर्ता बढ्छन् । अहिले इभीमा बाढी नै आएको छ । यसलाई रोक्न कसैले सक्दैन ।

इभी प्रवर्द्धनमा कस्ता कस्ता काम गर्दै आउनुभएको छ ?

इभीको बिक्री बढेर सन्तुष्ट हुने अवस्था मात्रै पनि छैन । यसलाई व्यवस्थापन गर्न जरुरी पनि भइसकेको छ । बजारमा हरेक खालका गाडीहरु आउने र इभीप्रतिको आम धारणानै नकारात्मक बनाउन सक्ने पनि देखिन्छ । सरकारले यसलाई मापदण्ड बनाएर नियन्त्रण र नियमन गर्न सक्नुपर्यो । उपभोक्ता इभीप्रति आकर्षित भएर पनि अब इभी प्रवर्द्धन गर्नुपर्छ भन्ने कुरामा नाडा पनि सहमत भएको छ । प्रदेश स्तरीय इभी तालिम तथा इभी साक्षरताका कार्यक्रम अगाडि बढाउने कुरामा छलफल चलिरहेको छ । आर्थिक मन्दीको असर इभीमा पनि परिरहेको छ । बैंकको ब्याजदर र कर्जाको असर इभीमा पनि देखिएको छ । तथापि बैंक तथा वित्तीय संस्थाले इभीलाई प्राथमिकता दिँदै आएकाछन् ।

You might also like

Comments are closed.