इङवा हाइड्रोपावरको आइपीओ फागुन २१ गतेदेखि खुल्दै

काठमाडौं इङवा हाइड्रोपावरले फागुन २१ गतेदेखि आइपीओ खुला गर्ने भएको छ ।

हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दा र श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गर्न लागेको हो ।

हाइड्रोपवारले १०० रुपैयाँ अंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

उक्त आइपीओमा  चैत ५ गतेसम्म आवेदन दिन सकिनेछ भने स्थानीयले भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा चैत २० गतेसम्म आवेदन दिन पाउनेछन् । तर वैदेशिक रोजगारीमा रहेका नेपालीले भने चैत ५ गतेसम्म आवेदन दिनुपर्नेछ

आयोजना अति प्रभावित क्षेत्र ताप्लेजुङ्ग जिल्लाको सिदिङ्गवा गाउपालिका वडा नं ३ र पाँचथर जिल्लाको यङपरक गाउपालिकाको वडा नं २ स्थानीय बासिन्दाहरुका लागि उक्त सेयर जारी गर्न लागेको हो । त्यस्तै, सर्वसाधारणमा निष्कासन हुने १२ लाख कित्तामध्ये १० प्रतिशत अर्थात १ लाख २० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई छुट्याइएको छ ।

रेटिङ एजेन्सी केयर नेपालले इङवा हाइड्रोपावरलाई केयर एनपी डबल बी रेटिङ प्रदान गरेको छ ।यो आइपीओमा नेपाल एसबिआई क्यापिटल बिक्री प्रबन्धक रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

You might also like

Comments are closed.