एफवान सफ्ट २० औँ वर्षमा प्रवेश, ठूलो र अग्रणी आइटी कम्पनी रहेको दाबी

काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदान गर्दै आइरहेको फिनटेक कम्पनी एफवान सफ्ट इन्टरनेशनल २०औँ वर्षमा प्रवेश गरेको छ ।

डिजिटल वित्तीय सेवा पुर्याउने उद्देश्यले सन् २००४ मार्च ६ बाट कम्पनीले आफ्नोे सेवा सुरु गरेको थियो । १९ वर्षको अवधिमा कम्पनी नेपालको ठुलो र अग्रणी आइटी कम्पनीका रूपमा स्थापित हुन सफल भएको कम्पनीको दाबी छ । कम्पनीले वित्तीय क्षेत्रमा आवश्यक पर्ने सबैखाले प्रविधिको निर्माण गर्दै आएको जानकारी दिएको छ ।

सुरूमा एसएमएस बैंकिङबाट आफ्नोे सेवा स्थापना गरेको कम्पनीले हाल वित्तीय क्षेत्रलाई अवश्यक पर्ने इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, फोनलोन जस्ता प्रविधिहरू निर्माण गरिसकेको छ । यस्तै एफवान सफ्टले इसेवा र फोनपे जस्ता मोबाइलमार्फत हुने भुक्तानीको समेत विकास गरेको छ । कम्पनीमा हाल १ हजार २०० भन्दा बढी दक्ष जनशक्तिले रोजगारी पाएका छन् ।

कम्पनीले उपभोक्ताको दैनिकी सहज बनोस् र त्यसको फाइदा मुलुकको अर्थतन्त्रलाई पुगोस् भन्ने दृष्टिकोण राखेर प्रविधि निर्माण गर्दै आएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माको भनाइ छ । कम्पनीले डिजिटल नेपाल बनाउँदै इकोनोमीलाइ नै डिजिटलाइज गरि देशको जिडिपीमा ठुलो योगदान दिने उद्देश्य राखेका बताए । ‘यसका लागि हामीले आगामी दिनमा अझ मिहिनेतका साथ अत्याधुनिक प्रविधि निर्माणमा सशक्त रूपमा लाग्नेछौँ, ’ उनले भने ।

एफवान सफ्ट ग्रुप अन्तरगत हाल एक दर्जन बढी कम्पनी सञ्चालनमा छन् । एफवान सफ्ट ग्रुप अन्तरगत इसेवा, फोनपे, इसेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजी, कोजेन्ट हेल्थ, लोजिका जस्ता प्रविधिमा अग्रणी कम्पनी सञ्चालित रहेको कम्पनीले बताएको छ । यी कम्पनीले वित्तीय क्षेत्र बाहेक स्वास्थ्य, शिक्षा तथा अन्य विभिन्न क्षेत्रलाई डिजिटलाइज गर्ने उदेश्यले सफ्टवेयर निर्माण गर्ने गर्दछन् ।

You might also like

Comments are closed.