दमौली विविध कार्यक्रम गरी अन्तराष्ट्रिय नारी दिवस मनाइयो

तनहुँ, २४ फागुन
“लैंगिक समनताको लागी समान सोच र व्यवहार ः समृद्धिको आधार भन्ने नाराका साथ नेपालभरि १०९ औं अन्तराष्ट्रिय नारी दिवस मनाउदै गर्दा तनहुँको दमौलीमा पनि शुक्रवार विविध कार्यक्रम गरी अन्तराष्ट्रिय नारी दिवस मनाइएको छ ।
व्यास नगरपालिकाले आयोजना गरेको सचेतनामूलक ¥याली दमौली बजार परिक्रमा पश्चात कोण सभामा परिणत भएको थियो । कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशकी सांसद एवम् पुर्व मन्त्री आशा कोइरालाले संविधानले महिलालाई दिएको अधिकार पुर्ण कार्यान्वयन गर्नु नै अहिलेको मुख्य चुनौती भएको बताइन् । ‘जबसम्म अंश र वंशको आधारमा छोरा र छोरीलाई बराबर अधिकार भन्ने कुरा पुर्ण रुपमा व्यवहारमा लागु हुदैन महिला र पुरुषको बीचको विभेद पनि अन्त्य हुदैन’ उनले भनिन् । महिलाहरु आर्थिक रुपमा सबल हुनुपर्ने चर्चा गर्दै कोइरालाले महिला संगठित भएर संघर्ष गरे संविधानले प्रत्याभूत गरेका सबै अधिकार पाउने विश्वास व्यक्त गरिन् ।

त्यस्तै गण्डकी प्रदेश सभा सदस्य सरिता गुरुङले महिलाहरु शिक्षित हुदै आर्थिक, समाजिक र राजनैतिक रुपमा समृद्ध बन्नु आजको आवश्यकता भएको बताइन् । ‘संविधानले महिलाहरुको सहभागिता ३ वटै तहमा सुनिश्चित गरेको यो राम्रो पक्ष हो तर महिलाहरु यतिमै सन्तृष्ट भएर बस्ने अवस्था भने बनि सकेको छैन’ उनले भनिन् ।

व्यास नगरपालिकाकी उपप्रमुख एवम् मूल आयोजक समितिकी संयोजक मिरा जोशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य भगवती न्यौपानेले महिलाहरुले सहअस्तित्वपुर्ण समाजको परिकल्पना गरेको बताइन् । ‘हामीले पुरुष हाम्रो दुश्मन हो भनेका छैनौं, पितृसत्तात्मक सोचाइ हाम्रो दुश्मन हो उनले भनिन’् ।
त्यस्तै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले नगरपालिकाकाले महिलाहरुको दक्षता, क्षमता अभिवृद्धि र सीप हस्तान्तरणका गर्दै आएको बताए । ‘संविधान र नाराले मात्र महिलाहरुको अधिकार प्रत्याभूत गर्न सक्दैन त्यो व्यवहारमा पनि लागु हुनुपर्छ’ उनले भने । महिला, बालबालिका र ज्येष्ठ नागरिकलाई सामाजिक न्यायपरक ढंगले व्यवहार गनुपर्नेमा न्यौपानेले जोड दिए ।

सोही अवसरमा महिला शक्ति विकास केन्द्र नेपालले महिलाहरुको नेतृत्व विकास र शसक्तिकरणका लागी सञ्चालन गरेका कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउने आमा समूह र महिलाहरुको क्षेत्रमा कार्य गर्दै आएका महिलाहरुलाई सम्मान समेत गरिएको थियो ।

You might also like

Comments are closed.