पोखरा, २७ फागुन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको ४ वर्षमा प्रत्येक भूमिहिनको हात÷हातमा लालपूर्जा हुने बताएका छन् । राष्ट्रिय भूमि अधिकार मञ्चको पाचौं राष्ट्रिय सम्मेलनलाई पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । सरकारले हस्तक्षेप गरेर भएपनि भूमिहिन किसानको सम्बोधन गर्नुपर्ने बताउँदै उनले भने,‘जमिनको समस्या समाधान गर्न यो पटक जरुरी छ ।’ उनले भूमिहिन किसान अर्थात सुकुम्बासीहरुले जो जहाँ बसेका छन् उनीहरुलाई त्यहिंको जग्गाको लालपूर्जा दिनुपर्ने बताए । उनले जसले जुन जग्गाको भोगचलन गर्दै आएको छ उसैलाई त्यो जग्गाको मालिक बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले भूमिहिनलाई तत्कालन लालपूर्जा दिन नसक्ने हो भने घर जग्गाको परिचय खुल्ने परिचय पत्र बनाएर दिनुपर्ने बताए । जुन परिचय पत्र वैंकमा राखेर ऋणसमेत लिनसक्ने खालको हुनुपर्ने उनको भनाई थियो ।
अध्यक्ष प्रचण्डले नेपालको समृद्धीको कुरा भूमिसँग जोडिएको बताए । उनले भूमिहिनका लागि आफू २० वर्षदेखी लडिरहेको बताए । आफू प्रधानमन्त्री हुँदा भूमि सुधार ऐन ल्याउने प्रयास गरेपनि राजनीतिक अस्थिरता र उतारचढाव हुँदा त्यो कार्यान्वयनमा नगएको बताए ।
अध्यक्ष प्रचण्डले सुकुम्बासी समस्या समाधान नगर्ने कम्युनिष्ट सरकार नहुने बताए । कम्युनिष्टले भूमिहिनलाई भूमिको मालिक बनाउनै पर्ने बताउँदै उनले त्यसो नगरे त्यो कम्युनिष्ट चरित्र नहुने बताए ।
भूमि ब्यबस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले भूमिहिन किसानको मागले सार्थकता पाउने बताए । उनले वर्तमान सरकारले भूउपयोग नीति र भूमि सुधार ऐन बनाएर विधेयकको रुपमा मन्त्री परिषदमा लैजान लागेको बताउँदै केहि दिन भित्रै संसदमा गएर पारित हुने बताए । विगतमा मन्त्री फेरिएपिच्छे र सरकार फेरिएपिच्छे भूमिहिन किसानहरुले मन्त्रीको ढोका चाहार्नुपर्ने बाध्यता रहेको बताउँदै उनले भने,‘तर अब विधेयक चाँडै पारित हुँदैछ, यसपछि मन्त्रीको ढोका चाहार्नु पर्दैन, भूमिहिन किसानको मागले सार्थकता पाउँछ ।’
राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले भूमिहिन, हरुवा÷चरुवा तथा कमलरीलगायतको समस्या चाँडो भन्दा चाँडो समाधान गर्नुपर्ने बताईन् ।
ग्ण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले भूमिहिनको समस्या न्यायोचित तरिकाले सँधैका लागि समाधान गरिनुपर्ने बताए । उनले भूउपयोग नीति ल्याएर भूमिहिनको समस्या समाधान गर्नुपर्ने उनको भनाई थियो ।
सत्तारुढ दल नेकपाकी सचेतक शान्ता चौधरीले भूमिहिन किसानको माग ओत नहुनेलाई ओत दिनुपर्ने मात्र भएको बताए । सुकुम्बासीको माग धेरै छैन भन्दै उनले थपिन,‘रात दिन पसिना बगाउने र श्रम गर्नेलाई भूमिको मालिक हुनुपर्छ, ओत नहुनेलाई ओत दिनुपर्छ भन्ने मात्र हो ।’
राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल गण्डकीका अध्यक्ष आशबहादुर गुरुङले दलहरुले सुकुम्बासीलाई भोट वैंकको रुपमा प्रयोग गर्नेगरेको आरोप लगाए । भूमिहिनहरुलाई अधिकार नदिईकन सरकारले भनेको समृद्धी प्राप्त नहुने बताउँदै उनले भने,‘दलहरुले भूमिहिनलाई अधिकार दिन कञ्जुस्याईं गरे, अधिकार दियो भने स्वाभिमान हुन्छ भनेर भूमिहिनका माग पूरा नगरेका हुन्, तर भूमिहिन वा यो वर्गलाई अधिकार नदिई सरकारले भनेको समृद्धी प्राप्त हुँदैन ।’ उनले सुकुम्बासीले पाउने लालपूर्जा भूमाफियाले चलखेल गरेर हुकुम्बासीलेसमेत हत्याएको भन्दै त्यस्ता व्यक्तिको लालपूर्जामाथी छानविन गर्न माग गरे ।
फागुन २९ गतेसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । सम्मेलनमा देशभरका करीब तीन हजार भूमिहिन प्रतिनिधिहरुको सहभागिता रहेको छ ।
प्रचण्डले भेटे रव्रिन्द्रको परिवारलाई
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्वर्गिय रविन्द्र अधिकारको परिवारलाई भेटेका छन् । पूर्व प्रधानमन्त्रीसमेत रहेका प्रचण्डले स्वर्गिय अधिकारीको निवास मालेपाटनमा पुगेर अधिकारी परिवारलाई भेटेर समवेदना व्यक्त गरेका हुन् । प्रचण्डले स्वर्गिय अधिकारीकी धर्मपत्नी विद्या भट्टराई र छोराहरु स्वराज र बिराजसँग भेटेका थिए । भेटमा प्रचण्डले देश र पार्टीले परिवारको भूमिकाको अपेक्षा गरेको बताउँदै भने,‘तपाईंहरुबाट देशले राम्रो अपेक्षा गरेको छ, त्यो अपेक्षा तपाईंहरुले राम्रोसँग पूरा गर्नुहुनेछ भन्ने अपेक्षा गर्दै शुभकामना व्यक्त गर्दछु ।’ उनले अधिकारी परिवारलाई सँधै पार्टीको साथ रहने पनि बताएका थिए । भेटमा भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललगायत नेकपाका अन्य नेताहरुसमेत सहभागि थिए ।
प्रचण्ड राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको पाचौं सम्मेलनमा सहभागि हुन पोखरा आएका बेला स्वर्गिय अधिकारी परिवारलाई भेट्न पुगेका हुन् ।






Comments are closed.