पोखरा, ५ चैत । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालको सातौं महाधिवेशनका लागि सेकेण्ड भाइस गभर्नरमा उम्मेदवारी प्रस्तुत गरेका विशेश्वर आचार्यले प्रत्येक लायन्स सदस्यले गौरव गर्नेगरी आफूले डिष्ट्रिक्टको नेतृत्व गर्ने बताएका छन् । वैशाख १३ र १४ गते पोखरामा डिष्ट्रिक्टको सातौं महाधिवेशन हुँदैछ ।
पोखरा क्षेत्रका लायन्स क्लबहरुका पदाधिकारीहरुको मंगलबार आयोजित भेलामा बोल्दै आचार्यले बिगत केही वर्षदेखिको योजनाबद्ध रुपमा सेकेण्ड भाइस गनर्भरको उम्मेदवार बनेको जिकिर गरे । ‘लायन वर्ष २०१९/२० का लागि मैले सेकेण्ड भाइस गभर्नरमा उम्मेदवारी प्रस्तुत गरेको छु,’ उनले भने, ‘लायन वर्ष २०२१/२२ मा गभर्नर बन्ने योजनासहित बिगतदेखि नै क्याबिनेट सेक्रेटरी लगायत लायन्सका नेतृत्वदायी भूमिकामा रहँदै आइरहेको छु । प्रत्येक गभर्नरले प्रदान गर्नुभएका जिम्मेवारीहरु कुशलतापूर्वक बहन गरेको छु ।’
पोखरा, काठमाडौं र मोफसलका क्लबहरुको साथ र समर्थनबाट आफू उत्साही बनेको आचार्यले बताए । कार्यक्रममा सहभागीहरु मध्येबाट विभिन्न क्लबका अध्यक्ष, उपाध्यक्ष तथा कोषाध्यक्षहरुले आचार्यले सही समयमा उम्मेदवारी प्रस्तुत गरेकाले आफूहरुको समर्थन रहने बताएका थिए । सेकेण्ड भाइस गभर्नरमा ध्रुवबहादुर श्रेष्ठले पनि उम्मेदवारी प्रस्तुत गरेका छन् । उम्मेदवारी प्रस्तुत गरेसँगै श्रेष्ठ पनि प्रचारप्रसारमा जुटेका छन् ।
Comments are closed.