नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई लघु, घरेलु, साना एवं मझौला उद्यमका क्षेत्रमा लगानी गर्न निर्देशन जारी गरेको छ । जस अनुसार वाणिज्य बैंकहरुले यस क्षेत्रमा कूल कर्जाका २०८० असार मसान्तसम्म ११ प्रतिशत, २०८१ असार मसान्तमा १२ प्रतिशत, २०८२ असार मसान्तमा १३ प्रतिशत र २०८३ असार मसान्तमा १५ प्रतिशत लगानी गनुपर्नेछ । र, यस क्षेत्रमा गरिने कर्जाहरुमा केहि सहजता तथा सहुलियत समेत प्रदान गरेको छ ।
नेपाल राष्ट्र बैंकले लघु, घरेलु, साना एवं मझौला उद्यमका क्षेत्रमा लगानी बढाउन सहज बनाउने उद्देश्यले ५० लाख रुपैयाँसम्मको कर्जाहरुमा स्थायी लेखा नम्बर र कर चुक्ता प्रमाणपत्र अनिवार्य नहुने तथा ५० लाख रुपैयाँसम्मको चालु पुंजी कर्जाको लागि पनि चालु पुंजी मार्गदर्शनमार्फत सहजता प्रदान गरेको छ । रु. ५० लाख भन्दा बढी र रु. २ करोडसम्मको कृषि, पर्यटन एवं साना तथा मझौलाका लागि कर दाखिला कागजातको आधारमा कर्जा प्रदान गर्न सकिने ब्यवस्था गरेको छ भने रु. ५० लाखसम्मको चालु पुँजी प्रकृतिको कर्जा प्रवाह गर्दा अनुमानित वित्तीय विवरण लिन अनिवार्य हुने छैन भनि सहजता प्रदान गरेको छ ।
त्यसैगरी, १ करोड रुपैयाँसम्मको कृषि, हस्तकला तथा सीपमूलक व्यावसाय एवं उद्यम व्यवसाय (आयात सम्बन्धी व्यावसाय वाहेक) हरुको प्रवाह गरिने कर्जाहरुमा बेस रेट +२ प्रतिशतसम्म मात्रै ब्याज लिन पाइने, ५० लाख रुपैयाँसम्मको कर्जामा अग्रिम भुक्तानी शुल्क लिन नपाइने जस्ता ब्यवस्थाहरु गरेर यस क्षेत्रमा मानिसहरुलाई आकर्षित गर्ने प्रयास गरिएको छ ।
विश्वका जुनसुकै देशहरुको आर्थिक विकासको लागि लघु, घरेलु, साना एवम् मझौला उद्यमका क्षेत्रमा गरिएको लगानीले ठुलो महत्व राख्दछ । त्यसमा पनि नेपाल जस्तो कम विकसित देशको लागि यो क्षेत्रको योगदान एकदमै महत्वपूर्ण हुने भएकाले यस क्षेत्रको विकासको लागि सम्बन्धित सरोकारवालाहरुले महत्व दिन सकेन भने देशको आर्थिक विकासमा नकरात्मक प्रभाव पार्न सक्छ । लघु, घरेलु, साना एवं मझौला उद्यमको माध्यमबाट देशमा रोजगारीको सृजना भई गरीबी घटाउन मद्दत मिल्ने र देशको आर्थिक विकासमा सकरात्मक भूमिका खेल्न सक्छ भने यस क्षेत्रको विकासको लागि गरिने नयाँ खोज तथा आविष्कारबाट आर्थिक क्रियाकलाप चलायमान हुने र सम्बन्धित क्षेत्रीय स्तरमा रोजगारीको सृजना भई क्षेत्रीय विकासमा पनि ठुलो मद्दत मिल्न सक्छ ।
नेपालमा गरिएको अध्ययन अनुसार अहिले ऋण लिएका लघु, घरेलु, साना एवं मझौला उद्यमीहरु मध्ये ८४.८० प्रतिशतले वाणिज्य बैंकबाट कर्जा लिएर ब्यवसाय गरिरहेका छन् भने बाँकीले अन्य विभिन्न श्रोतहरुबाट कर्जा उपभोग गरिरहेको देखिन्छ । यी उद्यमीहरुले उद्यम शुरु गर्न पुँजीको ब्यवस्था पनि विभिन्न माध्ययमबाट गरिरहेको देखिन्छ जसमध्ये ३१.१ प्रतिशतले आफ्नो सम्पत्ती बिक्रीबाट, २५.८० प्रतिशतले आफूले गरेको बचतबाट र १६ प्रतिशतले कर्जाबाट गरेको तथ्याङकले देखाएको छ । यस लघु, घरेलु, साना एवं मझौला उद्यमको मुख्य क्षेत्रहरुमा सेवा क्षेत्र ५६ प्रतिशत, कृषि क्षेत्र २९ प्रतिशत र उत्पादन क्षेत्र ६ प्रतिशत पाइएको छ ।
लघु, घरेलु, साना एवं मझौला उद्यमहरु सबैभन्दा धेरै बागमती प्रदेशमा ३७ प्रतिशत त्यसपछि लुम्बिनी प्रदेशमा १६ प्रतिशत, कोशी प्रदेशमा १४ प्रतिशत, मधेश प्रदेशमा १४ प्रतिशत, गण्डकी प्रदेशमा ९ प्रतिशत र कर्णाली र सुदुरपश्चिम प्रदेशमा १० प्रतिशत सञ्चालनमा रहेको पाइएको छ । यी उद्यमहरुले नेपालमा १७ लाख ५० हजार रोजगारी सृजना गरेर कुल ग्राह्स्र्थ उत्पादनमा २२ प्रतिशतको योगदान दिएको देखिन्छ । विश्वभरमा भने लघु, घरेलु, साना एवं मझौला उद्यमले ५० प्रतिशत रोजगारी सृजना गरेर कूल ग्राहस्र्थ उत्पादनमा ३५ प्रतिशत योगदान दिएको पाइन्छ ।
भारतले लघु, घरेलु, साना एवं मझौला उद्यमलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा मान्दै आएको र यसलाई प्राथमिकताका साथ अगाडि बढाउंदै यस क्षेत्रको विकासको लागि छुट्टै मन्त्रालय र यस्ता कर्जाहरुलाई सर्वसुलभ ढंगले प्रवाह गर्नको लागि सरकारबाट बिभिन्न प्रकारका योजनाहरु ल्याइरहेको उदाहरणहरु छन् ।
एकपटक भारतमा अटल विहारी भाजपायी प्रधानमन्त्री हुँदा भारतले आर्थिक विकासमा फड्को मारिरहेको समाचार दिनदिनै आइरहेका थियो । तर, एकदिन किसानहरु आत्महत्या गरेको समाचार आएपछि सरकारले आफ्नो आर्थिक नीतिमाथि पुनर्विचार गर्नुपर्ने अवस्थाको सृजना भएको थियो । किनकि, देशको बास्तविक प्रतिनिधित्व शहरका ठुला ठुला महलमा बस्ने सीमित धनीहरुले होइन, ती गरिब गाउँमा बस्ने धेरै किसान तथा मजदुरहरुको स्थितिले गथ्र्यो । यसपछि भारतले लघु, घरेलु, साना एवं मझौला उद्यमलाई विशेष प्राथमिकतामा राख्दै आएको छ । नेपालको अर्थतन्त्र पनि ठुलो उद्योग तथा कम्पनीहरु भन्दा पनि कृषि तथा साना उद्यमहरुमा बढि निर्भर भएकाले नेपालले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै साना व्यवसायीहरुलाई सल्लाह तथा सहयोग गरेर अगाडि बढ्नुपर्छ, उनीहरुको मनोबल उच्च बनाउने कार्यतर्फ ध्यान दिनुपर्छ ।
अहिलेका गुगलका सिइओ सुन्दर पिचाई आफू पढेको युनिभर्सिटी आईआईटी खरागपूर भारतका विद्यार्थीहरुसंग एउटा कार्यक्रममा सहभागी हुँदा एकजना विद्यार्थीले उनलाई गुगलको भविष्यको प्रतिस्पर्धी को हुन सक्छ भनेर प्रश्न गर्छन् । सुन्दर पिचाईले झ्यालबाट बाहिर देखाउँदै ऊ त्यो चौरमा केहि गर्नुछ भनेर मनमा हुटहुटी भएर यता उता भौंतारिरहेका विद्यार्थीहरुमध्ये जो कोही पनि भविष्यको गुगलको प्रतिस्पर्धी हुन सक्ने सुनाएपछि विद्यार्थीहरु छक्क पर्दै आफूमा पनि आशा पलाएको आभाष गर्न पुग्छन् । आजको सामान्य मानिसले पनि भोलि ठुलै संस्थाको नेतृत्व गर्न सक्छ, आजको सानो व्यवसाय पनि भोलि ठुलो उद्योगी बन्न सक्छ भन्ने यो उदाहरणको सन्देश हो ।
अहिलेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष एवं आईएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालले सन् २००१ मा आईएमई मनि ट्रान्स्फर शुरु गर्दा उनी एउटा सानो कोल्ड स्टोर सञ्चालन गर्ने साना व्यापारी मात्रै थिए । भर्खरै नेपाल उद्योग वाणिज्य महासंघमा निर्वाचित अञ्जन श्रेष्ठका बुवा गणेश बहादुर श्रेष्ठले घरमै पुष्टकारी बनाएर मेलामा बेच्न शुरु गरेर अहिले नेपालकै एउटा ठुलो सफल व्यापारिक समूह लक्ष्मी ग्रुपको स्थापना गर्न सफल भएका छन् । त्यसैले आजको साना ब्यापारी भविष्यको ठुला ब्यापारी बन्न सक्छन् भन्ने यी सफल उद्यमीहरुबाट सिक्न सक्छौं ।
नेपालको अर्थतन्त्रको विकासको लागि लघु, घरेलु, साना एवं मझौला उद्यमको विकास आवश्यक छ भन्ने कुराको शायद कसैको पनि दुईमत छैन । अहिलेबाट नै आजका साना ब्यवसायीहरुलाई भोलिको एउटा ठुलो उद्योगी बनाउन नयाँ शिप, नयाँनयाँ प्रविधि तथा अन्तर्राष्ट्रिय स्तरका ज्ञान आदान प्रदान गर्ने व्यवस्था गरेर यी उद्योगहरुबाट उत्पादित बस्तुहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा सहज तथा शुलभ ढंगले पहुंच स्थापित गर्न सके यस्ता साना उद्यमहरुको प्रवर्द्धन भई देशको आर्थिक विकासका ठुलो योगदान मिल्नेमा कुनै द्विविद्या देखिँदैन । लघु, घरेलु, साना एवं मझौला उद्यमको विकास अर्थतन्त्रको विकासको मुख्य आधार हो, यस क्षेत्रलाई अझै प्राथमिकतामा राख्नु जरुरी छ ।
लेखक डा. बुद्धि मल्ल बैंकर हुन् ।
Comments are closed.