संगम र सुगम सहकारीकोे एकीकरण हुँदै

अपिल कोइराला

मुलुकभर हाल ३४ हजार ५१२ सहकारी संस्थाहरु क्रियाशील छन् । यसरी ठूलो संख्यामा रहेका बचत तथा ऋण सहकारी संस्थाहरुलाई गुणस्तरीय संस्था बनाउनु र व्यवस्थित तवरले सञ्चालन गर्नुपर्ने आजको अवस्था छ । सहकारी संस्थामा सुशासन कायम गरी सञ्चालन भएन भएको अनुगमन गर्न आवश्यक जनशक्तिको अभाव भइरहेको यस परिवेशमा नेपाल सरकारले सहकारी ऐन २०७४ मार्फत अंगिकार गरेको एकीकरण गर्न प्रेरणा गराउने खालको नीति आफैमा स्वागत योग्य छ ।

कास्की जिल्लाको सहकारी अभियानमा बिगत लामो समयदेखि संचालनमा रहेका २ सहकारी संस्था एकीकरण गर्नको लागि २०७५ चैत्र २३ गते एकीकरण घोषणा सभा हुने भएको छ । २०६१ साल वैशाखबाट कारोबार सुरु गरी २०६४ चैत्रबाट विधिवत् दर्ता गरी पोखार–१५, रामबजारबाट आफ्नो सेवा प्रदान गरिरहेको संगम बचत तथा ऋण सहकारी संस्था लि. र २०६५ असोजबाट विधिवत दर्ता गरी पोखरा–४ , गैह्रापाटनबाट आफ्नो सेवा प्रदान गरिरहेको सुगम बचत तथा ऋण सहकारी संस्था लि. एक आपसमा एकीकरण पश्चात सेवा प्रदान गर्ने प्रतिबद्वता सहित लागिरहेको छन् ।

नेपाल सरकार, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) को संयुक्त आयोजनामा सञ्चालित गुणस्तरीय साकोस सुनिश्चतता कार्यक्रम (प्रोवेशन)मा आवद्व भई ८ औं कार्यकुशलता कार्यशाला गोष्ठी सम्पन्न गरिसकेको संगम साकोसमा हालसम्म २६०० शेयर सदस्य, कास्की जिल्ला भरी कार्य क्षेत्र रहेको संस्थाको ७ करोड शेयरपुँजी, कोषहरुमा २ करोड ५० लाख र ३७ करोड वासलात छ । साथै सुगम साकोसमा हालसम्म शेयर सदस्य ८०० कार्यक्षेत्र पोखरा म.न.पाका ५ बटा वडाहरु, रु २ करोडको शेयर पुँजी र ५ करोडको वासलात छ ।

एकीकरण पश्चात संस्थाको नाम संगम बचत तथा ऋण सहकारी संस्था लि. राख्ने सहमति भए अनुसार उक्त संस्थाको कुल सदस्य ३४००, कुल बचत २९ करोड कुल ऋण लगानी ३१ करोड कुल शेयर पुँजी ९ करोड, कोषहरुमा २ करोड ६० लाख र वासलात ४१ करोड रहने छ । समुदायमा आधारित दीगो संस्था र समृद्ध सदस्य बनाउने अभियानको साथ एकीकरण शुरुवात गरिएको हो यसले आगामी दिनमा अन्य सहकारी संस्थाहरुलाई पनि मार्गदर्शन गर्ने नै छ र सहकारी संस्थाहरु संख्यात्मक भन्दा गुणात्मक हुनेछन् । (कोइराला संगम साकोसको वरिष्ठ व्यवस्थापक तथा कोअपरेटिभ म्यानेर्स क्लब कास्कीको सचिव हुन्)

You might also like

Comments are closed.