‘नाडा अटो शो’ले अर्थतन्त्र चलायमान बनाउँदै व्यवसायीमा उत्साह थप्नेछ’

अनुपकुमार बराल

यही भदौ २६ गतेबाट १५ औं संस्करणको नाडा अटो शो हुँदैछ । विभिन्न आरोह अवरोध र अप्ठयारा अवस्था पार गर्दै र अनि वर्तमानमा बजारको अवस्था त्यति सहज नहुँदा नहुँदै पनि अटो शो आयोजना गरेका छौं । यसले अर्थतन्त्र चलायमान बनाउछ र व्यवसायीमा उत्साह थप्नेमा हामी विश्वस्त छौं ।

कोरोना महामारी, आयात प्रतिबन्ध, बैंक तथा वित्तीय संस्थाको व्याजदर, आर्थिक मन्दीलगायतका समस्याका कारण अटो क्षेत्रमा धेरै असर परेको छ । प्रतिकुलताको बीचमा पनि अनुकुलता खोज्नुपर्छ भनेर हामीले १५ औं संस्करणको नाडा अटो शो आयोजना गरेका हौं ।

हरेक वर्ष अटो शो गर्दै आएकोमा कोभिड पछि यसलाई निरन्तरता दिन सकेका थिएनौं । अघिल्लो वर्ष भने इभी शो ग¥यौं । इभी शोले एउटा नयाँ आयाम र हौसला दियो । नेपालीहरुले जुन नयाँ टेक्नोलोजीलाई स्वीकार गरेका छन् त्यसलाई देखाउने अवसर पनि नाडाले प्राप्त गर्यो । इभि मन पराउनेहरुले हामीलाई धेरै सहयोग गर्नुभयो ।

टु, थ्रि र फोर ह्विलर्स, कमर्सियल भेइकल, लुव्रिकेन्ट्स, टायर, अटो कम्पोनेन्ट, बैंक तथा वित्तीय संस्था, इन्स्योरेन्स कम्पनीलगायत विभिन्न क्षेत्रका करिव २ सय स्टल यस पटकको प्रदर्शनीमा रहनेछन् । ग्राहकले विभिन्न स्किम पाउनेछन् । बजारमा रहेकाहरुको नयाँ ब्राण्ड आउँछन् । मार्केटमा नदेखिएका ब्राण्ड पनि अटो शोमा रहन्छन् । यही अवसरमा कतिपय नयाँ ब्राण्ड नेपालमा लन्च हुनेछन् ।

अटो क्षेत्रलाई बचाउनुपर्छ । यो क्षेत्र भनेको विकाससँग जोडिएको क्षेत्र हो । यो क्षेत्र धरासायी हुनुहुँदैन भन्ने हिसावले सबै मिलेर अटो शोलाई भब्य तथा सभ्य रुपमा सम्पन्न गर्नेछौं । प्रदर्शनी स्थल व्यवस्थित तथा आकर्षक बनाएका छौं ।

नाडा अटो शो भनेको बि टु बी मात्र होइन डाइरेक्ट बि टु सी हो । व्यापारको अवसर खोज्नेसँगै उपभोक्तासँग सिधा कनेक्ट हुन्छ । हामी त्यहाँ बुकिङ तथा बिक्री गर्छौं । यो एउटा राम्रो अवसर तथा प्ल्याटफर्म पनि हो ।

यो कार्यक्रमले व्यवसायीलाई मात्र उत्साही बनाउदैन । सरकारले प्राप्त गर्ने राजस्व मध्य करिब २५ प्रतिशत राजस्व अटो क्षेत्रले नै बुझाउँछ । हरेक व्यक्तिलाई चहिने यातायातका साधन र विकास निर्माणका क्षेत्रमा आवश्यक पर्ने साधन उपलब्ध गराउँछ ।

२०७२ को भूकम्पपछि नेपालमा अन्य विभिन्न अप्ठ्यारा परिस्थिति आए । यसले गर्दा धेरै क्षेत्रमा समस्या आयो ।

बैंकबाट ब्याजदर खासै घटेका छैनन् । अहिले बैंंकमा पैसा थुप्रिएको छ भन्ने आएको छ तर ग्राहकले सिधै त्यसको अनुभूति गर्न पाएको अवस्था छैन । यस्ता कार्यक्रमले अहिले परिस्थिति केही सुधार हुन्छ, बैंक तथा वित्तीय संस्थाले लगानीका लागि उपयुक्त ठाउँ भेट्छन् भन्ने लाग्छ । इभिमा राम्रो लगानी भइरहेको छ । सरकारले इभीलाई प्राथमिकतामा राखेको पाइन्छ ।

नेपालको अटो व्यवसायकाक्षेत्रमा पुर्नउत्थान भएर भोलिका समयमा अझै राम्रो गर्न सकिन्छ कि भन्ने आशा चाही हामीसँग छ ।

अटो शोमा आउनुहुनेका लागि सवारी साधन पार्किङ गरेपछि हामीले निःशुल्क सटल बसको व्यवस्था गरेका छौं । बिहान १०ः ३० देखि साँझ ७ बजेसम्म भृकुटीमण्डपको छेउबाट टुडिखेल वरिपरी सटल बस घुमिरहन्छ ।

अनलाइन टिकट काट्न चाहनेलाई हामीले खल्तीसँग सहकार्य गरेका छौं । यसबाट टिकट खरिद गर्दा क्यास ब्याकको अफर छ । काउन्टरमा पनि टिकट काट्न सकिन्छ ।

संयोजकको तर्फबाट नाडा अटो शोमा म सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछु ।

(१५ औं नाडा अटो शो २०२३ का संयोजक बरालसँग गरिएको कुराकानीमा आधारित)

lcci
You might also like

Comments are closed.