काठमाडौं । नाडाको नवनिर्वाचित टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । नाडा अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले अटोमोबाइल क्षेत्रका विषयमा छलफल गरी समस्या समाधानका लागि पहल गर्न प्रधानमन्त्रीसँग आग्रह गरेको हो ।
भेटघाट तथा छलफलमा अध्यक्ष चौधरीले टोमोवाइल व्यवसायलाई पुनः गतिशील बनाउन अटो लोन/हायर पर्चेज कर्जामा जोखिम भारलाई १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशत कायम गरिनुपर्ने माग गरे ।
बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सीमालाई बृद्धि गरेर ७५ प्रतिशत गरिनुपर्ने माग गरेका छन् ।
त्यस्तै, चालु पुंजी कर्जा सम्बन्धी निर्देशिकामा भएका केही अव्यवहारिक बुँदाहरुलाई समेत तत्कालै संशोधन गरिनुपर्ने तथा भारतीय मालवाहक ट्रकलाई ७२ घण्टासम्म निर्वाध रुपमा नेपालमा प्रवेश गर्न दिनाले नेपालको अटोमोवाइल व्यवसायमा नकारात्मक असर पर्न गएकाले त्यसलाई व्यवस्थित गर्नका लागि पनि आग्रह गरेका छन् ।
नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नेपालको अटोमोवाइल उद्योग समस्या र समाधानबारे प्रिजेण्टेशन मार्फत विस्तृत रुपमा जानकारी गराएका छन् ।
छलफलमा प्रधानमन्त्री दाहालले विद्युतीय सवारी साधन, चार्जिङ स्टेसन र नेपालमा अटोमोबाइल सम्बन्धी उद्योगहरुको सम्भावनाहरुका सम्बन्धमा विशेष चासो राख्दै प्रस्तुत समस्याहरुको समाधानका लागि आवश्यक पहल गरिने बताए । छलफलमा नाडाका बरिष्ठ उपाध्यक्ष आकाश गोल्छा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल तथा एशोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति थियो ।
Comments are closed.