कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले भने, “कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत र मुख्यतः जडीबुटी स्रोतमा महत्वपूर्ण छ । तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ ।” प्रधानमन्त्री प्रचण्डले औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्न समेत प्रतिष्ठानलाई निर्देशन दिएका छन् ।

साधनस्रोतको अभावका बीचमा रहेर प्रतिष्ठानले राम्रो काम गर्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे । उनले भने, “बाटोघाटोको असुविधा, दक्ष चिकित्सकहरू र प्राविधिकहरूको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्याहरू छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ ।  आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ ।”

चिकित्सक, प्राविधिकहरू र कर्मचारीहरूको वृत्तिविकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने , “तपाईंहरूका मागहरू क्रमशः सम्बोधन गर्दै जाने विश्वाससमेत दिलाउँछु ।”

lcci
You might also like

Comments are closed.