काठमाडौं । नवौँ ‘जापानी ल्याङ्ग्वेज स्पीच कन्टेस्ट’ (जापानी भाषा वक्तृत्वकला) प्रतियोगिता सकिएको छ ।
जापानीज ल्याङ्ग्वेज स्कुल एशोसियसन अफ नेपाल (जाल्सान) ले नेपालमा जापानी भाषा, संस्कृति र शैक्षिक प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले शनिवार राजधानीमा नवौं जापानी ल्याङ्ग्वेज स्पीच कन्टेस्ट प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा विभिन्न जापानीज भाषा तथा शैक्षिक परामर्श प्रदान गर्ने १२ वटा संस्थाबाट १२ जना विद्यार्थीले भाग लिएका थिए ।
प्रथम मिसाकी जापानीज एण्ड इन्टरनेशनल ल्याङ्ग्वेज एजुकेशन सेन्टरकी रविना गोलेलाई पुरस्कार स्वरुप ल्यापटप र शिल्ड, द्वितिय हाकुहो जापानीज ल्याङ्ग्वेज स्कुलबाट आयुष कंसाकारलाई ट्यावलइट र शिल्ड, तृतीय सगरमाथा जापानीज ल्याङ्ग्वेज इन्ष्टिच्युटबाट पारसमणि दाहाललाई मोवाइल प्रदान गरिएको छ । प्रतियोगितामा अन्य सहभागिले सान्त्वना पुरस्कार र प्रमाणपत्र प्राप्त गरेका छन् ।
उच्च शिक्षाका लागि जापान जाने तयारीमा रहेका विद्यार्थीको वाक क्षमता अभिवृद्धि गर्न तथा जापानीज भाषा, कला संस्कृति, परम्परा र शैक्षिक प्रणालीबारे पूर्ण जानकारी गराउने उद्धेश्यले वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको जाल्सानका अध्यक्ष रमेश देवकोटाले बताए । जाल्सानले विद्यार्थीमा जापानको शैक्षिक प्रणाली, भाषा, संस्कृति र परम्पराबारे अधिक ज्ञान प्रदान गर्न प्रतियोगिता गर्दै आइरहेको र यस्ता प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।
जापानीज भाषा वक्तृत्वकला प्रतियोगिता मात्रै नभएर समय–समयमा संस्थाका सदस्य व्यवसायीलाई काउन्सिलर तालिम प्रदान, शैक्षिक मेला, जापानीज फुड कल्चरलाई प्रोत्साहन र नेपालमा जापानी संस्कृति ‘हानामी’ परम्पराको प्रवद्र्धनमा पनि सक्रिय रहँदै आएको अध्यक्ष देवकोटाले बताए । उनले जापानमा पढ्न जाने विद्यार्थीलाई शिक्षा मन्त्रालयबाट दिइने एनओसीमा समस्या भइरहेकाले यसको समाधानको लागि पहल गरिदिन नेपालका लागि जापानी राजदूत किकुता युकुताको ध्यानाकर्षणसमेत गराएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि राजदूत युकुताले जाल्सानले जापानीज भाषा, संस्कृति र परम्पराको प्रवर्द्धनमा विगतदेखि सहयोग पुर्याउँदै आएको बताए । विदेशी विद्यार्थीमा हाल जापानमा नेपाली तेस्रो नम्बरमा रहेको र उनीहरू १ लाख ५६ हजारको हराहारीमा जापानमा बसोवास गरेकाले मलाई जापानको राजदुत हुन पाउदा खुसी लागेको उनले बताए । जापानीज शिक्षा हासिल गर्ने प्रक्रियामा भइरहेको केही कठीनाइहरुको पहिचान गरी समाधानको लागि पहल गर्ने पनि उनको भनाई छ ।
राजदूत युकुताले जापानीज भाषा वक्तृत्वकला प्रतियोगितामा भाग लिने विद्यार्थीको प्रशंसा गर्दै राम्रो प्रस्तुती रहेको बताए । जापानीज दूतावासको आफ्नै आधिकारीक फेसबुक पेजमा जापानको शिक्षा, भाषा, कलासंस्कृति र परम्पराबारे अधिक जानकारी समेटिएको बताउँदै उनले विद्यार्थीहरुलाई सो फेसबुक पेज हेर्न र अध्ययन गर्न आग्रह गरे ।
कार्यक्रममा सहभागीलाई जाल्सानका महासचिव अरुण पाण्डेले स्वागत, सचिव महेश श्रेष्ठ र सदस्य मेरिया खड्कीले सञ्चालन गरेका थिए । कार्यक्रममा अन्य परामर्श व्यवसायी संघका प्रतिनिधिको सहभागीता रहेको थियो । जापानी भाषा र संस्कृतिमा रुचि राख्नेलाई ध्यानमा राखी वर्षैपिच्छे जापानीज फूल साकुरा रोप्न थालिएको छ भने जापान फाउन्डेसनको सहयोगमा जल्सानको कार्यालयमा पुस्तकालय समेत स्थापना गरिएको छ ।
Comments are closed.