कास्की । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ ।
पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम प्रदान गरेका हुन् । महानगरले ६० हजार ४४१ केजी च्याउ, २५ हजार ४१७ केजी गोलभेँडा, ९ हजार ५२० केजी सिमी र २९१ केजी कोदो गरी ९५ हजार ६६९ केजी कृषि उपजको रु २६ लाख ७९ हजार ७६१ समर्थन मूल्य प्रदान गरेको हो ।
पोखरा महानगरपालिकाभित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका किसानलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा किसान विस्थापित हुँदै गएकाले त्यसलाई रोक्न महानगरले ३५ कृषि उपजको समर्थन मूल्य तोकेको उल्लेख गरे ।
यदि किसानले आफ्ना उत्पादन समर्थन मूल्यभन्दा कममा बेच्नुपरेमा महानगरले बाँकी रकम किसानलाई दिन्छ । न्यूनतम समर्थन मूल्य तोकिएका बालीको दाबी गर्नका लागि किसानले आफूले लगाएको बालीको नाम, जात र क्षेत्रफल अग्रिम रूपमा दर्ता गर्नुपर्छ । न्यूनतम समर्थन मूल्य प्राप्त गर्ने किसानमा चिसापानी च्याउ फार्म पोखरा–२२ का सन्दीपबहादुर क्षेत्रीले समर्थन मूल्यबापत ११ हजार १६६ केजी च्याउको रु ४ लाख ८५ हजार ९४० प्राप्त गरे ।
भुर्जङ्खोला च्याउ फार्म पोखरा–१९ का सुष्मा सुनार गहतराजले ७ हजार ५६० केजी च्याउको रु ३ लाख ६२ हजार ९२०, शोभा अग्र्यानिक मल्टिएग्रो फार्म पोखरा–२६ का मुकुन्द खड्काले ९ हजार ७१४ केजी च्याउको रु ३ लाख १७ हजार ४४, ग्रिन लाइम मसरुम फार्म पोखरा–२४ का चोविन्द्रबहादुर कुँवरले रु ३ लाख १ हजार ७४० पाएका छन् ।
यसैगरी सुवेदी च्याउ तथा तरकारी फार्म पोखरा–३३ का प्रताप सुवेदीले ९ हजार ११३ केजी च्याउको रु ३ लाख ८२२, काँहु सिस्नेरी एग्रो फार्म पोखरा–११ का ध्रुवबहादुर थापाले ५ हजार २२५ केजी च्याउको रु १ लाख ७४ हजार २२६, भोर्लेटार च्याउ उद्योग पोखरा–३२ का मनोरञ्जन पौडेलले ६ हजार २०३ केजी च्याउको रु १ लाख ६८ हजार ७०६ पाएका छन् ।
अधिकारी अग्र्यानिक च्याउ फार्म पोखरा–१४ का मीना अधिकारीले २ हजार ७२४ केजी च्याउको रु ८३ हजार ४४४ र विमु अधिकारी च्याउ फार्म पोखरा–१४ का हरिमाया अधिकारीले १ हजार २५६ केजी च्याउको रु ४९ हजार ६ सय महानगरबाट समर्थन मूल्य प्राप्त गरेका हुन् ।
यसैगरी एसके कँडेल कृषि फार्म पोखरा–२८ का सन्तोष कँडेलले ३ हजार ९५० केजी सिमीको रु ६९ हजार ९५०, पोखरा कुखुरा तथा कृषि फार्मका रिलेस बस्यालले ३ हजार ६७० केजी सिमीको रु ६२ हजार ८९०, राति पोखरी कृषि फार्म पोखरा–२२ का अग्निमाया बरालले ८२५ केजी सिमीको र १ हजार ७५४ केजी गोलभेँडाको रु ३५ हजार ४२१, निलम कृषि फार्म पोखरा–१४ का यामबहादुर घर्तीले २ हजार ६७ केजी गोलभेँडाको रु २३ हजार ४७५ बुझेका छन् ।
रोशन एण्ड रोहित कृषि फार्म पोखरा–१४ का रमेश खनालले २१ हजार ३१४ केजी गोलभेँडाको रु २ लाख १९ हजार ३२९, पोखरा हिमाल कृषि फार्म पोखरा–१४ का बुद्ध गुरुङले १ हजार ७५ केजी सिमी र २८२ केजी गोलभेँडाको रु १५ हजार ५२४ र हरियाली कृषि फार्म पोखरा–३३ का शुकदेव सुवेदीले २९१ केजी कोदोको रु ८ हजार ७३० पाएका छन् ।
किसानलाई समर्थन मूल्य प्रदान गर्दै प्रमुख आचार्यले महानगरपालिका किसानको साथमा रहेको बताए । “कृषि उपजको सुरक्षित ढुवानीका लागि सञ्चालन गरिएको कृषि एम्बुलेन्स र समर्थन मूल्य कृषि व्यवसाय र किसानका लागि निकै महत्त्वपूर्ण छन्”, प्रमुख आचार्यले भने ।
कृषि व्यवसायमा लागेका किसान हतोत्साहित हुन नपरोस् भनी यसलाई थप प्रभावकारी बनाइएको महानगरले जनाएको छ । समर्थन मूल्य प्राप्त गरेपछि किसानले कृषि व्यवसायका क्रममा आफूले व्यहोर्नुपरेको नोक्सानीमा मल्हम लगाउन महानगरपालिका सारथी बनेको र यसले आफूहरूलाई प्रोत्साहन मिलेको किसानहरूको भनाइ छ । रासस
Comments are closed.