शिवरात्रीमा पथिल होलिडेज र ‘ट्रीप टू टेम्पल्स’द्वारा १५० भारतीयलाई कैलाश–मानसरोवर दर्शन

काठमाडौं । महाशिवरात्रीको अवसरमा नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ‘ट्रीप टू टेम्पल्स’सँगको समन्वयमा नेपालगञ्जबाट १५० भारतीय तिर्थयात्रीको कैलाश मानसरोवरको दर्शन गराएको छ ।

ट्राभल कम्पनीद्वारा श्री एअरलाइन्सको जहाज चार्टर्ड गरी चीनको तिब्बतमा रहेको हिन्दु धर्मावलम्बीको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको दर्शन आकाशबाटै गराइएको हो । माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै रावणले तपस्या गरेको राक्षस ताल, अपि र सैपाल हिमाल लगायतको आकर्षक दृश्यावलोकन गर्न पाइन्छ ।

कोभिड अघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्ज रुटबाट मानसरोवर पुग्ने गरेका थिए । कोभिड पछि भारतीय पर्यटकलाई चीनले भिषा नदिएपछी यो रुट सुनसान बनेको छ, जसको सिधा असर सो रुटको पर्यटन व्यवसायमा परेको छ ।

यसअघि बाँकेको रुपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगञ्जबाट जहाजमा सिमिकोट गएर एकरात त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्ससम्म हेलिकप्टरमा गएर हिल्साबाट २ दिनमा चिनियाँ बसमा ताक्लाकोट हुँदै मानसरोवर पुग्दथे ।

मानसरोवरको रुटको चहलपहल कम भएपछि नेपालग‘जको पर्यटन सुस्ताएको समयमा पथिल होलिडेजले पर्यटकीय गतिविधि बढाउन र भिषाका कारण रोकिएका भारतीय पर्यटकलाई मानसरोवर दर्शन गराउने उद्देश्यले मानसरोवरको माउन्टेन फ्लाइट सुरू गरिएको पथिल होलिडेजका प्रवन्ध निर्देशक महेश गौतमले जानकारी दिए ।

कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकका लागि नयाँ गन्तव्यको रुपमा विकास हुने ट्रिप टू टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताए । माउन्टेन फ्लाइटकै लागि १५० भारतीय पर्यटक बिहीबार नेपालगञ्ज आएर होटल सिद्धार्थमा बसेका थिए । उनीहरूलाई श्री एअरलाइन्सको जहाजमा फ्लाइट गराइएको हो ।

शिव पार्वतीको घर देख्ने बाल्यकाल देखिको सपना पूरा भएको कर्ननाटका भारतदेखि आएकी ३३ वर्षिया अरुणा यनले बताइन् । भिषा उपलब्ध भएपनि उमेरका कारण जान गाह्रो थियो, जहाजबाटै दर्शन गर्न पाउँदा अत्यन्तै खुशी लागेको नयाँ दिल्लीबाट आएका ६७ बर्षिय गोपाल सेठले खुसी साटे ।

दर्जनौँ हिउँ चुचुरा पार गर्दै कैलाश पर्वत र मानसरोवरलाई नजिकबाट नियाल्दा कोही खुशीले भावविह्वल हुँदै रोइरहेका थिए भने कोही चिच्याउँदै ’हर हर महादेव’ भन्दै थिए । भारतीय ट्राभल कम्पनी ट्रिप टू टेम्पल्सले भारतका विभिन्न राज्यका नागरिकलाई तिर्थयात्रा गराउँदै आएको छ ।

यस अगाडि पथिल होलिडेज र ट्रिप टू टेम्पल्सले श्री एअरलाइन्सको समन्वयमा गत माघ १५ देखि कैलाश मानसरोवरको माउन्टेन फ्लाइट सुरुवात गरेको थियो । भारतीय पर्यटकलाई लक्षित गर्दै आगामी दिनमा पनि माउन्टेन फ्लाइट मार्फत कैलाश–मानसरोवर दर्शनका लागि हरेक हप्ता उडान गराउने उद्देश्य रहेको मिश्राले बताए ।

lcci
You might also like

Comments are closed.