काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को सहकार्यमा आयोजित ‘एडुक्लेभ २.०’ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । सोमबार काठमाडौंको होटल म्यारियटमा आयोजित एडुक्लेभको दोश्रो संस्करणमा विभिन्न विषयमा प्यानल डिस्कसन सहित समापन भएको हो ।
कार्यक्रममा सहभागी वक्ताले ज्ञान, अर्थतन्त्र र नेपालको उद्यमशीलता पहिचान विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका छन् । परामर्श क्षेत्रका लागि छुट्टै ऐन र मुलुकमा शैक्षिक जनशक्तिहरुका लागि अवसर सृजना गरेर विदेशिएका युवाशक्तिलाई स्वदेश फर्काउनुपर्नेमा जोड दिइएको छ ।
‘द पोलिसी डायलग’ नाम दिइएको दोश्रो संस्करणको एडुक्लेभको सुरुवात इक्यानका अध्यक्ष शेषराज भट्टराईको स्वागतबाट सुरु भएको हो । अध्यक्ष भट्टराईले यस क्षेत्रको दिगो व्यवस्थापन साथै सुधारको लागि शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक रहेको बताए । नेपालमा हाल ५ हजार एजुकेसन कन्सल्टेन्सी रहेको र त्यसबाट ७० हजार बढीले रोजगार पाएको उनको दाबी छ ।
‘शैक्षिक परामर्श ऐन तत्काल बनाउन आवश्यक छ, जसको लागि सरकारले पहल गर्नुपर्छ, हजारौंले रोजगारी पाएका यस क्षेत्रमा सरकारको चासो नदेखाउनु विडम्बनाको विषय हो,’ उनले भने । ऐन निर्माणका लागि यो कार्यक्रमले निकै महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष भट्टराईको भनाई छ ।
एडुक्लेभमा सहभागी कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले शैक्षिक परामर्श क्षेत्रमा छुट्टै ऐन बनाउन पहल गर्ने बताए । परामर्श क्षेत्रका लागि यस सम्बन्धी ऐन आवश्यकताको विषयलाई मध्यनजर गर्दै ऐन बनाउन आफूले सक्दो पहल गर्ने उनको भनाई छ ।
पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले नेपालको भविष्य सर्भिस इन्ड्रस्टीमा रहेको बताए । उनका अनुसार स्वदेश तथा विदेशमा अध्ययन गरेका नेपाली विद्यार्थीको आईटी क्षेत्रमा निकै राम्रो भविष्य रहेको र आइटी विद्यार्थीले उत्पादन गरेको सफ्टवेयर वार्षिक ७० अर्बभन्दा बढी निर्यात गरिरहेको बताउँदै स्टार्टअपका लागि चालू आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन गरेको पनि बताएका छन् ।
नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले नेपालमा रहेका शैक्षिक परामर्श व्यवसायीले स्वदेशमा होस् या विदेशमा प्रत्येक व्यक्तिले ईच्छा अनुसारको शिक्षा पाउनुपर्ने कुरामा जोड दिदै नेपाली विद्यार्थीलाई ज्ञान, सिप र एक्सपोजर दिलाउने कार्यमा सहयोग गरेकोमा ईक्यानको प्रशंसा गरेका छन् ।
शिक्षाविद डा. विद्यानाथ कोइरालाले सरकारले ल्याएको शिक्षा विधेयकले शैक्षिक क्षेत्रका सबै विषय समेट्नु पर्नेमा जोड दिए । नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले नेपाली विद्यार्थीको भविष्य सुनिश्चित गर्नको लागि शैक्षिक परामर्श संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए । इक्यानका निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श क्षेत्रलाई सरकारले बुझ्न आवश्यक रहेको बताउँछन् ।
नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले नेपालमै लगानीमैत्री वातावरण बने विदेशिएका युवाहरु स्वदेश फर्किने बताए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले युवाहरू विदेश जानुलाई नकारात्मक रूपमा लिन नहुने बताए ।
अर्थविद् तथा काठमाडौं विश्वविद्यालयका प्रा.डा. अच्युत वाग्लेले ३८ हजार नेपाली नर्सहरु विदेशिए भनेर चिन्ता नगर्न आग्रह गर्दै नेपाली विद्यार्थीले विश्वको जुनसुकै मुलुकमा पनि अवसर पाउने भएकाले नर्स तथा विद्यार्थी विदेशिदा खुसी हुनुपर्ने बताउँछन् । शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले अबको महिना दिनभित्र मन्त्रि परिषदमा शिक्षा विधेयक टेबुल गर्ने र अब एनओसी २४ घण्टाभित्रै दिने व्यवस्था मिलाउने प्रतिबद्धता पनि जनाए ।
कार्यक्रममा पूर्व मन्त्री उदय शमसेर राना, पूर्व गर्भनर दिपेन्द्रबहादुर क्षेत्री, डा. राजिब सुब्बा, डा. कृष्ण श्रेष्ठ, व्रिटिस काउन्सिलका कन्ट्रि डाइरेक्टर प्रतिष्ठा थापा रायमाझी, डा. विष्णु उप्रती, बरिष्ठ पत्रकार प्रतिक प्रधान, शिक्षा मन्त्रालयका प्रवक्ता शिवप्रसाद साप्कोटा, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्णलाल बर्जाचार्य, इन्सिच्युट अफ ईन्जिनियर, त्रिभुवन युनिभरसिटिका असिस्टेन्ट डिन डा. विनोदकुमार भट्टराई, नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल तथा प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा राणाले बहसका क्रममा बाहिरको शिक्षालाई विरोध भन्दापनि सदुपयोग कसरी गर्ने भन्ने कुरा महत्वपूर्ण रहेको बताएका छन् ।
Comments are closed.