‘घरजग्गा खरिद बिक्री नहुँदा अर्थतन्त्र कमजोर’

लेखनाथ (कास्की) । नेपाल जग्गा तथा आवास विकास महासङ्घका केन्द्रीय अध्यक्ष भेषराज लोहनीले देशको अर्थतन्त्र कमजोर हुनुमा घरजग्गा कारोबारको प्रतिकूल अवस्था पनि एक भएको बताएका छन् ।

गण्डकी जग्गा तथा आवास विकास व्यवसायी सङ्घ पोखराको २०औँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशनको आज पोखरामा उद्घाटन गर्दै अध्यक्ष लोहनीले वार्षिक रु १५ खर्ब बराबरको घरजग्गा कारोबार हुने गरेकामा कोरोना महामारी र आर्थिक मन्दीका कारण उक्त कारोबार घटेको बताए । घरजग्गा व्यवसायीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले घरजग्गा कारोबार नियमावली ल्याउन जरुरी भएको उनको भनाइ छ ।

“रियल स्टेट कम्पनीलाई व्यवस्थित गर्दै व्यवस्थित सहरको विकास गर्न नगर विकास योजना र रियल स्टेट कम्पनी सहकार्य गरेर अगाडि बढ्नुको विकल्प छैन”, अध्यक्ष लोहनीले भने, “घरजग्गाको कारोबार रियल स्टेट कम्पनीले मात्र गर्न पाउनुपर्ने व्यवस्था सरकारले गर्नुपर्छ ।”

जग्गा व्यवसायी यदुनाथ अधिकारीले युवालाई विदेश जानबाट रोक्न स्वदेशमै सीपमूलक तथा विकास निर्माणमा लगाउनुपर्नेमा जोड दिए । घरजग्गा कारोबारलाई व्यवस्थित बनाउँदै एकीकृत रुपमा लगानी गर्नुपर्नेमा उनले जोड दिए । पोखरालाई व्यवस्थित सहर बनाउन जग्गा व्यवसायीको एकीकृत लगानी आवश्यक भएको अधिकारीको भनाइ छ ।

यसअघि कार्यक्रममा सहभागिहरुलाई संघका उपाध्यक्ष नवराज पौडेलले स्वागत गरेका थिए । अध्यक्ष त्रिपाठीले वार्षिक प्रतिवेदन, सचिव कमल बहादुर बस्नेतको प्रतिवेदन र कोषाध्यक्ष लेखराज हमालले कोषाध्यक्षको प्रतिवेदन पेश गरेका थिए । सोही अवसरमा आजीवन सदस्यता वितरण गरिएको थियो भने निवर्तमान अध्यक्ष अर्जुन पोखरेलको कार्यकालको उच्च मूल्यांकन गर्दै प्रमुख अतिथि लोहनीले सम्मान गरेका थिए । सचिव बस्नेतले संचालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष त्रिपाठीले गरेका थिए ।

You might also like

Comments are closed.